सुनकोशी मरिण डाइभर्सन ठेक्का तोड्ने प्रक्रिया सुरु



जनकपुरधाम, कात्तिक २५ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृह, गेट लगायतका हाइड्रो–मेकानिकल संरचना निर्माणका लागि पटेल–रमण जेभीसँग भएको ठेक्का सम्झौता तोड्ने निर्णय अगाडि बढाइएको हो।

आयोजनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोड्ने कारण खुलाएको छ। सम्झौताको अवधि करिब ६१ प्रतिशत पुरा भएपनि भौतिक प्रगति करिब १० प्रतिशत मात्रै रहेको, कार्य प्रगति बढाउन आवश्यक कदम नचालिएको, र सुधारका लागि सूचना दिँदा समेत कुनै प्रतिक्रिया नआएकोले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।

यससँगै पटेल–रमण जेभीले राखेको कार्यसम्पादन जमानतवापतको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफतको प्रक्रिया पनि सुरु गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत ७ असोजमा आयोजनामा अस्वाभाविक ढिलाई देखिएपछि मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए।

सुनकोशी–मरिण आयोजनाको ठेक्का १४ अर्ब ८ करोड रुपैयाँमा ९करसहित० पटेल–रमण जेभीसँग भएको थियो। निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेका थिए र माघ २०७९ देखि काम सुरु गरेका थिए। सम्झौता अनुसार असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो, तर हालसम्म भौतिक प्रगति १० प्रतिशत मात्र रहेको छ।

आयोजनाको १३।३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो र सुरुङ २६ वैशाख २०८१ मा छिचोलिएको थियो। सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा प्रवाह गरिनेछ र यसले ३१ मेगावाटको जलविद्युत उत्पादनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

यो आयोजना मधेश प्रदेशका कृषकहरूको उत्पादन क्षमता, जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने महत्वको रूपमा रहेको छ। आयोजनाको कुल अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २६, मंगलवार ०९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको