काठमाडौं, कात्तिक २६ । नेकपा (एमाले) बाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरिरहेका नेता डा. भीम रावल अब नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका छन । रावल आज दिउँसो काठमाडौंमा हुने औपचारिक कार्यक्रममा पार्टीमा आबद्ध हुँदैछन्।
कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र डा. भीम रावलले सम्बोधन गर्ने तयारी गरिएको छ।
गत साता भृकुटीमण्डपमा आयोजित दसदलीय एकता घोषणा कार्यक्रममा पनि रावललाई समावेश गर्ने तयारी थियो। तर अन्तिम चरणमा ‘थप छलफल आवश्यक’ भन्दै त्यो निर्णय स्थगित गरिएको थियो।
आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला र भानुभक्त जोशीबीच भएको बैठकपछि भने रावल पार्टीमा मिसिन सहमत भएका हुन्।
गत वर्ष पुस महिनामा अनुशासन उल्लंघनको कारण देखाउँदै नेकपा ९एमाले० ले रावललाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि उनले आफ्नै राजनीतिक अभियान सञ्चालन गर्दै आएका थिए।
स्रोतका अनुसार रावललाई नयाँ पार्टीमा छैटौं वरीयता दिइने सहमति भएको छ। उनका समर्थक नेता तथा कार्यकर्तालाई पनि उचित जिम्मेवारी र स्थान दिने निर्णय भएको बताइन्छ।
६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका नीति तथा दस्तावेज लेखनको जिम्मेवारी रावललाई दिने सहमति पनि बनेको छ।
‘डा. भीम रावलसँग पाँच बुँदे समझदारी भएको छ, जुन आजको कार्यक्रममा सार्वजनिक गरिनेछ,’ एक शीर्ष नेताले मधेश टुडे लाई जानकारी दिए।




