काठमाडौं, कात्तिक २६ । नेकपा एमालेबाट अलग भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका नेता डा. भीम रावल औपचारिक रूपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा रावलले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्। सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, र मातृभूमि जागरण अभियानका प्रस्तावक भीम रावलका हस्ताक्षर रहेका छन्।
सहमतिको माध्यमबाट रावलको नेतृत्वमा रहेको समूह अब औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा गाभिएको छ। एकतापछि पार्टीमा रावललाई छैटौं वरीयतामा स्थान दिने तयारी भएको स्रोतले जनाएको छ।
पार्टीका नेताहरूले यो एकतालाई “कम्युनिस्ट आन्दोलन एकतर्फी नभई समग्र बाम आन्दोलनलाई सुदृढ पार्ने ऐतिहासिक कदम” भनेर व्याख्या गरेका छन्।
नेता रावलले हस्ताक्षरपछि संक्षिप्त भनाइ दिंदै भने, “बाम विचार, राष्ट्रियता र स्वाभिमानको पक्षमा हामी फेरि एउटै छातामुनि आएका छौँ। यो देशको स्थायित्व र जनताको हितका लागि आवश्यक कदम हो।”
एकताको औपचारिक घोषणा राष्ट्रिय सभागृहमा केहीबेरमा आयोजना हुने विशेष समारोहमार्फत गरिँदैछ, जहाँ प्रचण्ड, माधवकुमार नेपाल र भीम रावलसहितका शीर्ष नेताहरूले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




