नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र



काठमाडौं, कात्तिक २६ । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। अध्यक्ष कवीर सोप नेतृत्वको यो पार्टीको चुनाव चिन्ह “जाँतो” रहेको आयोगले जनाएको छ।

पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि निवेदन दिएको थियो र आयोगले सबै प्रक्रिया पूरा गरी पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो। आयोगका अनुसार हालसम्म नेपालमा १२६ राजनीतिक दल दर्ता भइसकेका छन्, भने नयाँ दर्ताका लागि २९ दलले निवेदन दिएका छन्।

योसँगै, हालैको जेन–जेड आन्दोलनपछि दर्ता हुने राजनीतिक दलको संख्या पाँच पुगेको छ। यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, र सीके राउतको जनमत पार्टीबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन्।

नागरिक उन्मुक्ति पार्टी नेपालले लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाउने घोषणा गरेको छ। पार्टीका अनुसार आगामी दिनमा देशभर संगठन विस्तार र नागरिक परिचालन अभियान सञ्चालन गरिनेछ।

निर्वाचन आयोगले सबै नव–दर्ता दलहरूलाई आगामी निर्वाचनमा भाग लिनका लागि आवश्यक कानूनी प्रक्रिया र आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बुधवार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको