जनकपुरधाम, कात्तिक २६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा संविधानविपरीत सरकार गठन भएको भन्दै कडा आपत्ति जनाएको छ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि धारा १६८९२० र ९३० अनुसार प्रक्रिया नअपनाई गैरसंवैधानिक रूपमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति गरिएको छ। विज्ञप्तिमा थप भनिएको छ, “मधेश प्रदेशमा मुख्यमन्त्री यादवको नियुक्ति संविधान र लोकतान्त्रिक मूल्य विपरीत भएको छ, जसले प्रदेशको राजनीतिक मर्यादामा गम्भीर आघात पुर्याएको छ।”
लोसपाले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै संविधानअनुसार मात्र सरकार गठन हुनुपर्ने जोड दिएको छ।
साथै, जनकपुरधाममा आयोजित प्रदर्शनका क्रममा लोसपाका नेता र कार्यकर्ता घाइते भएको घटनामा प्रहरीले प्रयोग गरेको बलप्रति पनि पार्टीले कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा प्रहरीको दमन तत्काल रोक्न, दोषी प्रहरीमाथि कानूनी कारबाही गर्न, र घाइते नेताहरूको स्वास्थ्य लाभको कामना गरिएको छ।
पार्टीले यस घटनाको भर्त्सना गर्दै, प्रदेशमा शान्तिपूर्ण राजनीतिक वातावरण कायम राख्न सरकारसँग आग्रह गरेको छ।






