एजेन्सी, कात्तिक २६ । भारतको ऐतिहासिक स्थल लालकिल्ला नजिक भएको विस्फोट घटनाबारे प्रारम्भिक अनुसन्धानमा ठूलो खुलासा भएको छ। अनुसन्धान एजेन्सीहरूको अनुसार, यो कुनै आत्मघाती आक्रमण होइन, बरु आतंककारी उमर मोहम्मदले हतारमा गरेको विस्फोट हो।
सूत्रहरूका अनुसार, उमर “डाक्टर चौकडी” समूहका अन्य सदस्यहरू पक्राउ परेपछि मानसिक तनावमा थियो। प्रहरीले उसको लोकेसन ट्र्याक गरिरहेको थियो र उसलाई पनि छिट्टै पक्राउ गर्ने तयारीमा थियो। यही डर र तनावका कारण उसले हतारमा विस्फोट गराएको प्रारम्भिक अनुमान गरिएको छ।
इंटेलिजेन्स विभागको भनाइ अनुसार यो विस्फोट ठूलो आतंकवादी योजनाको हिस्सा हुन सक्थ्यो। तर सुरक्षा निकायहरूको समयमै गरिएको निगरानी र सतर्कताका कारण ठूलो दुर्घटना टल्न सफल भएको हो।
फरीदाबादमा भइरहेका अपरेसनपछि उमर भाग्ने प्रयासमा थियो। उसले एउटा अधुरो बम डिभाइस अन्यत्र लैजाने क्रममा गाडीमै विस्फोट भएको बताइएको छ। घटनास्थलमा कुनै ठूलो खाल्डो वा भारी धातुका टुक्रा फेला नपरेको अधिकारीहरूले जनाएका छन्।
फरेन्सिक साइन्स ल्याब टोलीले घटनास्थलबाट दुई जिउँदा कारतूस बरामद गरेको छ। दुई प्रकारका विस्फोटकका नमूना पनि फेला परेका छन् — पहिलो सम्भावित अमोनियम नाइट्रेट र दोस्रो अझ घातक पदार्थ, जसको परीक्षण जारी छ।
जम्मु–कश्मीर प्रहरीले सोही प्रकरणमा शोपियाँ निवासी इरफान अहमदलाई पक्राउ गरेको छ। इरफान श्रीनगरको एक मस्जिदका इमाम हुन्। उनलाई फरीदाबाद आतंकवादी मोड्युल मामिलामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।
पुलिसले उनको साथबाट पाँच मोबाइल फोन बरामद गरेको बताएको छ। इरफानमाथि चरमपन्थी गतिविधि ९चबमष्अबष्किबतष्यल० बढाउने आरोप पनि लगाइएको छ। हाल उनको श्रीमतीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।




