जनकपुरधाम, कात्तिक २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीलाई विशेष महाधिवेशन तिर जानु उपयुक्त नहुने चेतावनी दिएका छन्। बुधबार जारी केन्द्रीय समिति बैठकमा उनले भने कि विशेष महाधिवेशनमा गए पार्टी सग्लो र एकजुट रहन सक्दैन।
लेखकका अनुसार, “विशेष महाधिवेशनका लागि विधानअनुसार आवश्यक हस्ताक्षर दर्ता भइसकेको छ। हामीले नियमित वा विशेष महाधिवेशन, चुनावअघि गर्ने कि पछि भन्ने विषयमा महिना दिनसम्म छलफल गरिसकेका छौँ। तर, विशेष महाधिवेशनसम्म जानै हुँदैन।”
उनले महाधिवेशनको विकल्पका रूपमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सकेर पुसभित्रै नियमित महाधिवेशन सम्पन्न गर्न सकिने बताए। उनका अनुसार, विशेष महाधिवेशन गर्नु भनेको कांग्रेस जंगलभित्र पस्नुजस्तै हो, जसबाट बाहिर निस्कन मुस्किल पर्ने हुन्छ।
लेखकले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वले सावधानीपूर्वक निर्णय लिनुपर्नेमा जोड दिएका छन्। उनले मुलुकको विषम परिस्थितिमा सभापति शेरबहादुर देउवाले उपसभापतिलाई आशा र भरोसाका साथ कार्यवाहक दिइसकेको उल्लेख गर्दै, यो चुनौती र अवसर दुवै भएको बताए।
उनका अनुसार, सावधानीपूर्वक अध्ययन र रणनीतिक निर्णय लिए बिना विशेष महाधिवेशनले कांग्रेसको एकता कमजोर बनाउन सक्छ। पार्टीको आगामी गतिविधि र महाधिवेशनबारे निर्णायक तहमा पुग्दा यथासम्भव सन्तुलित र विवेकपूर्ण निर्णय गर्नुपर्ने उनको धारणा छ।




