काठमाडौं, कात्तिक २७। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका आचारसंहिता तयारीका क्रममा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरु भएको बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका छन्।
छलफलमा निर्वाचन तयारीसँगै आगामी निर्वाचनका लागि लागु हुने आचारसंहिताको मस्यौदा मुख्य विषय बनेको आयोगले जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी ९जसपा०, नेपाल जनमत पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० लगायतका दलका प्रतिनिधिहरू सहभागी छन्।
आयोगका अनुसार, यसपटकको आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, संवैधानिक निकाय र जनप्रतिनिधि सबैले पालना गर्नुपर्ने नियमहरू स्पष्ट रूपमा समावेश गरिएका छन्।
विशेष रूपमा, आयोगले दल र उम्मेदवारहरूलाई चुनावी घोषणापत्र आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान थपेको छ। साथै, हरेक वर्ष त्यस घोषणापत्रको कार्यान्वयन प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार,
“आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्ति रोक्न यसपटकको नियम कडा र कार्यान्वयनमुखी बनाइएको छ। उद्देश्य निष्पक्ष र विश्वासिलो निर्वाचन सुनिश्चित गर्नु हो।”
आयोगले अब दलहरूको सुझाव संकलन गरी अन्तिम रूप दिने तयारी गरेको छ। छलफलपछि आयोगले निर्वाचन सुरक्षासँग सम्बन्धित सरकारी निकायहरूसँग पनि समन्वय बैठक आयोजना गर्ने बताइएको छ।




