अनेरास्ववियुमा नेतृत्व विवाद सतहमा, केन्द्रीय कमिटी बैठकको माग



काठमाडौं, कात्तिक २७ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आन्तरिक विवाद सतहमा आएको छ। जेनजी आन्दोलनका क्रममा राजीनामा दिएका अध्यक्ष डा. सुजन कडरिया संगठनमा पुनः सक्रिय भएपछि नेतृत्व विवाद खुलेर सार्वजनिक भएको हो।

अध्यक्ष कडरियाको पुनरागमनपछि महासचिव दीपक धामीले वक्तव्य जारी गर्दै कडरियालाई संगठनका गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। उनले भनेका छन्, “जेनजी आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिमा दृढ नेतृत्व गर्नुपर्ने बेला संगठनलाई कमजोर बनाउने नियतले राजीनामा दिने काम अराजक र अनुशासनहीन हो।”

धामीले कडरियालाई ‘निवर्तमान अध्यक्ष’ सम्बोधन गर्दै पुनः पदमा फर्कने प्रयास संगठनविरुद्धको कदम भएको बताएका छन्।

यद्यपि, कडरियाले २४ कात्तिकमा अनेरास्ववियु केन्द्रीय कार्यालयमै उपस्थित भएर नियमित काम सुरु गरेका थिए। त्यस अवसरमा उनले ‘घर फर्क अभियान’लाई समर्थन गर्दै सबै कार्यकर्तालाई आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गरेका थिए।

“हाम्रो मातृ पार्टी नेकपा एमालेले सुरु गरेको घर फर्क अभियानलाई हामी जिम्मेवारीपूर्वक समर्थन गर्छौं,” कडरियाले भनेका थिए।

उनको समर्थनमा केही पदाधिकारीले जुलुससहित कार्यालयमा लगेका थिए र कडरियाले त्यहीँ सम्बोधन समेत गरेका थिए।

तर त्यसपछि महासचिव धामीले फेरि वक्तव्य जारी गर्दै कडरियालाई अध्यक्षको पदमा नफर्कन चेतावनी दिए।

धामीको वक्तव्यपछि उपमहासचिव कमल जोशीले संगठनकै लेटरप्याडमा वक्तव्य जारी गर्दै कडरियाको पक्षमा समर्थन जनाएका छन्।
जोशीले लेखेका छन्, “विद्यार्थीमाथि गोली चल्दा अध्यक्षले राजीनामा दिनु स्वाभाविक कदम थियो। तर, त्यसलाई आधार मानेर अध्यक्षलाई हटाउने प्रयास अनुचित र संगठनविरोधी छ।”

उनले महासचिव धामीमाथि ‘पद हडप्ने योजना’ अन्तर्गत गतिविधि गरिरहेको आरोप समेत लगाएका छन्।

“महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाएर दुई जना सिनियर उपाध्यक्ष हुँदाहुँदै पद हडप्ने प्रयास नगर्न अनुरोध गर्दछौं,” जोशीले भनेका छन्।

केन्द्रीय बैठकको माग

तीन शीर्ष पदाधिकारीबीचको विवादपछि संगठनभित्र ध्रुवीकरण स्पष्ट भएको छ। एक समूहले कडरियाको स्वागत गर्दै संगठन एकताबद्ध बनाउनुपर्ने बताइरहेका छन् भने अर्को समूहले उनलाई अस्वीकार गर्ने चेतावनी दिएको छ।

उपाध्यक्ष विकास श्रेष्ठसहितका नेताहरुले विवाद समाधानका लागि तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

“एक मन एकताका साथ अघि बढ्नु बाहेक विकल्प छैन। समस्या हामीले नै समाधान गर्नुपर्छ,” श्रेष्ठले लेखेका छन्।

सचिवालय सदस्य रुद्रहरी पोखरेल, सौराबी सुनुवार, बिराज भण्डारीलगायतले पनि बैठकको माग गरेका छन्।

“अनेरास्ववियु मनले होइन, कर्तव्यले चल्ने संगठन हो। तत्काल केन्द्रीय बैठक राखेर बहस गरौं,” सौराबी सुनुवारले सामाजिक सञ्जालमा लेखेकी छन्।

प्रकाशित मिति: २०८२ कार्तिक २८, बिहिवार ०८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको