ओमप्रकाश अर्याल एमालेको गृहमन्त्री जस्तै : सुदन गुरुङ



काठमाडौं, कात्तिक २७। ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल माथि तीव्र टिप्पणी गरेका छन्। उनले अर्याल हालको कार्यशैलीका कारण “एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको” बताएका छन्।

गुरुङ बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा लैनचौर पुगेका थिए। त्यही अवसरमा उनले पत्रकारहरूसँग कुरा गर्दै भने,

“उहाँ (अर्याल) जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो। तर अहिले आन्दोलनकारीहरूलाई नै पक्राउ गर्न थाल्नुभएको छ। जेनजीका माग सम्बोधन नगरी यस्तो गतिविधि गर्दा उहाँ एमालेको गृहमन्त्री जस्तो लाग्न थालेको छ।”

गुरुङले गृहमन्त्रीले हाल “चुनाव–चुनाव” मात्र दोहोर्याइरहेको बताउँदै, त्यसले आन्दोलनकारीमा शंका उत्पन्न गरेको बताए।

“गृहमन्त्री अर्याल खाली चुनावको कुरा गर्दै हुनुहुन्छ। तर जेनजी आन्दोलनका माग पूरा नभई कसरी चुनावमा जान सकिन्छरु”

उनका अनुसार, जेनजी आन्दोलन केवल चुनावमा सीमित नभई न्याय र अधिकार सुनिश्चित गर्ने आन्दोलन हो।

“गृहमन्त्रीको एजेन्डा चुनाव मात्र हुन सक्छ, तर हाम्रो एजेन्डा देशले न्याय पाउनुपर्छ भन्ने हो। आन्दोलनकारीहरूलाई न्याय दिलाउन उहाँले जिम्मा लिनुपर्छ,” गुरुङले भने।

गुरुङले थपे, जेनजी आन्दोलन समाप्त भएपछि जंगीअड्डादेखि राष्ट्रपति कार्यालयसम्म मध्यस्थकर्ताको भूमिका गृहमन्त्री अर्यालले नै निभाएको स्मरण गर्दै अहिले उनले आन्दोलनकारीप्रति “धोका दिन नमिल्ने” टिप्पणी गरे।

उनले सरकारलाई आन्दोलनका माग पूरा गर्न र दमनकारी शैली त्याग्न आग्रह गरे।

प्रकाशित मिति: २०८२ कार्तिक २८, बिहिवार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको