काठमाडौं, कात्तिक २७। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका बाहिर जान रोक लगाइएको छ।
२३ र २४ भदौको घटनासम्बन्धी छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत यो जानकारी दिएको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी सूचनामा भनिएको छ,
“आजबाट सेवा निवृत्त हुनु भएकाले पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।”
आयोगले खापुङलाई यसबारे औपचारिक रूपमा जानकारी गराउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
खापुङ बुधबार रातिदेखि प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाशमा पुगेका हुन्। सरकारले हालै दानबहादुर कार्कीलाई नयाँ आईजीपीका रूपमा नियुक्त गरेको छ।




