काठमाडौं, कात्तिक २८ । बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ। २४३ सिटका लागि भएको मतदानको प्रारम्भिक परिणाम अनुसार नीतिश कुमारको नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धन अग्रस्थानमा देखिएको छ।
अहिलेसम्म सबै २४३ सीटको प्रारम्भिक रुझान आउँदा एनडीए १९१ सीटमा अगाडि देखिएको छ। एनडीएम गठबन्धनमा भारतीय जनता पार्टी (भाजपा), जनता दल युनाइटेड (जेडीयू), लोजपा लगायत दल सहभागी छन्।
तेजस्वी यादव नेतृत्वको महागठबन्धन भने ४८ सीटमा अग्रस्थानमा छ। यस गठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दलहरू छन्।
पार्टीअनुसारको विवरण हेर्दा जेडीयू ७६ सीट, र भाजपा ८४ सीटमा अग्रस्थानमा छ। यसैले ठूलो दल बन्ने दौडमा मुख्य प्रतिस्पर्धा भाजपा र जेडीयूबीच देखिन्छ।
बिहारमा बहुमतको सरकार बनाउन १२२ सीट आवश्यक छ। अघिल्लो निर्वाचनमा राजद ७४ सीटसहित सबैभन्दा ठूलो दल बनेको थियो भने भाजपा दोस्रो थियो।
यसपटकको निर्वाचनमा रेकर्ड ६७ प्रतिशत मतदान भएको थियो।




