जनकपुरधाम, कात्तिक २८ । मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षा जोखिम बढेको भन्दै प्रदेशसभा परिसरभित्र रहेको सरकारी आवास छाडेकी छन्।
सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएपछि प्रदेशसभामा निरन्तर बढिरहेको राजनीतिक तनाव, आरोप–प्रत्यारोप र असहज वातावरणका कारण आफूले यस्तो निर्णय लिनुपरेको उपसभामुख राउतले बताइन्।
उनी भन्छिन्, “प्रदेशसभामा राजनीतिक तनाव अत्यधिक बढेको छ। कार्यकक्षमै सांसदहरू थुनिने, विवाद चर्किने र हातपातसम्मका घटना देखिन थालेपछि म पनि असुरक्षित महसुस गरें। सुरक्षा निकायले दिएको सुझावअनुसार मैले सरकारी आवास छाडेकी हुँ।”
उपसभामुख राउत अहिले जनकपुरधामस्थित निजी निवासमा अस्थायी बसोबास गर्दैछिन्। तर, उनले आफ्नो नियमित दायित्व र प्रदेशसभाका काम–काजमा भने कुनै असर नपर्ने स्पष्ट पारिन्।
सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभामा सत्ता–प्रतिपक्षबीचको तनाब झन् चर्किएको छ। राजनीतिक ध्रुवीकरणका बीच सुरक्षा चुनौती बढ्दै गएपछि उपसभामुखबाट यस्तो कदम चालिएको हो।




