सभामुखको असंवैधानिक कदमविरुद्ध सात दलको विरोध प्रदर्शन



जनकपुरधाम, कात्तिक २९ । मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएका निरन्तर असंवैधानिक कदम र अधिकार दुरुपयोगविरुद्ध सात दलिय गठबन्धनले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन । सभामुख रामचन्द्र मण्डलले अवैध ढंगले लिएका निर्णयका कारण प्रदेशसभा अनिश्चितताको दिशातर्फ धकेलिएको भन्दै सात दलले संयुक्त रूपमा प्रदर्शन गरेको हो ।

जनकपुरधामको कुवा बजारबाट सातदलका हजारौ नेता कार्यकर्ताको सहभागितामा शुरु प्रदर्शन मधेश प्रदेशसभा पुगेको थियो । सभामुख मण्डलको असंवैधानिक कदमको विरोधमा विभिन्न नारा जुलुस गर्दै प्रदर्शनकारीले प्रदेशसभा पुगेका थिए ।

सात दलका अनुसार सभामुख मण्डलले अविश्वासको प्रस्ताव दर्ता गरिएलगत्तै लोकतान्त्रिक अभ्यास र संसदीय मर्यादाको खुलेआम उल्लङ्घन गर्दै पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने पत्र सार्वजनिक गरेका थिए, जसले राजनीतिक वातावरणलाई थप अस्थिर बनाएको छ।

सभामुखको उक्त कदमलाई असंवैधानिक, मनोमानी र प्रतिशोधपूर्ण कार्य भन्दै सात दल आक्रोशित बनेका छन्। सभामुख मण्डलले जारी गरेको पत्रको प्रतिवादस्वरूप उपसभामुखले त्यसलाई बदर गरिएको सूचना सार्वजनिक गरिसकेकी छिन्। तर, यो विषय अब सर्वोच्च अदालतसम्म पुग्ने निश्चितजस्तै देखिएको छ।

गठबन्धनले प्रदेशसभामा बहुमतको राजनीतिक अधिकारलाई कमजोर पार्ने, सरकार गठन प्रक्रियामा हस्तक्षेप गर्ने र संवैधानिक मूल्य–मान्यतालाई खल्बल्याउने प्रयासलाई कुनै हालतमा सहन नहुने जनाएको छ। सात दलका नेताहरूले सभामुखको गतिविधिले प्रदेशसभालाई ‘अराजकता’ तर्फ धकेलिरहेको आरोप लगाउँदै नागरिकलाई लोकतान्त्रिक र संविधानिक व्यवस्थाको संरक्षणका लागि एकजुट हुन अपील गरेका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक ३०, शनिवार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको