मिथिला बिहारीमा वडाध्यक्ष यादवको गोली हानी हत्या

पुरानो रिसिवी र विवादकै बीच प्रहरी जवानसहित दुई पक्राउ


जनकपुरधाम, कात्तिक २९ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली प्रहारबाट मृत्यु भएको छ। सुरुवाती चरणमा घटनालाई अज्ञात व्यक्तिद्वारा गराइएको भनिए पनि प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा सोही क्षेत्रका प्रहरी जवान शम्भु यादव संलग्न रहेको पुष्टि भएको छ। घटनाको पृष्ठभूमिमा पुरानो रिसिवी, राजनीतिक तिक्तता र योजनाबद्ध आक्रमणको संकेत प्रारम्भिक अनुसन्धानले देखाएको छ।

वडाध्यक्ष यादव स्थानीय प्रकाश यादवका पिताको १३औं दिने (नौकेश) मृत्यु संस्कारमा दाजु रामनाथ यादव तथा भाई अशेश्वर यादवसँग सहभागी हुन पुगेका थिए। त्यही क्रममा स्थानीय धर्मनाथ यादव मृत्यु संस्कार भइरहेका ठाउँमा आएर गालीगलौज गर्न थालेको प्रत्यक्षदर्शीहरूले बयान दिएका छन्।

अशेश्वरले गालीगलौज रोक्न आग्रह गर्दा धर्मनाथले उल्टै कुटपिट सुरु गरेपछि विवाद चर्किएको थियो। त्यसपछि धर्मनाथका आफन्तसहित ४–५ जना व्यक्ति लाठी, खुकुरी र पेस्तोल लिएर घटनास्थलमा पुगेका थिए।

विवाद बढ्दै जाँदा वडाध्यक्ष विन्देश्वर यादव सम्झाउन अघि सरे। तर सोही बेला प्रहरी जवान शम्भु यादव ले नजिकबाट गोली प्रहार गरेको प्रत्यक्षदर्शी तथा प्रारम्भिक प्रहरी तथ्यांकले पुष्टि गरेको छ।

गम्भीर घाइते वडाध्यक्षलाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइए पनि चिकित्सकहरूले बचाउन सकेनन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमका अनुसार, “विवाद सुरु भएको करिब दुई मिनेटमै शम्भुले वडाध्यक्षमाथि गोली चलाएको देखिन्छ।”

उक्त घटनामा वडाध्यक्षका दाजु रामनाथ यादवसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।

वडाध्यक्ष यादवको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

स्थानीय स्रोत र प्रहरी अनुसन्धानका प्रारम्भिक निष्कर्ष अनुसार वडाध्यक्ष यादव र धर्मनाथबीच लामो समयदेखि राजनीतिक तथा व्यक्तिगत विवाद चल्दै आएको थियो। धर्मनाथ यादव एमाले वडा कमिटी अध्यक्ष हुन्। विन्देश्वर यादव २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए।

पछि उनी एमाले नेता रघुवीर महासेठको उपस्थितिमा पुनः एमाले प्रवेश गरेका थिए। विकास निर्माणका कार्य, पदीय निर्णय र उजुरी–आरोप–प्रत्यारोपसँगसँगै दुवैबीच तिक्तता बढ्दै गएको स्थानीयहरू बताउँछन्।

प्रहरीको प्रारम्भिक मूल्यांकन अनुसार, धर्मनाथले विवाद उक्साएर सुरु गर्नु , आफन्तहरू हतियारसहित पूर्वतयारीका साथ पुग्नु ,शम्भु यादव (धर्मनाथका काकाका छोरा) प्रहरीमै कार्यरत रहँदै गोली प्रहार गरेको जस्ता तथ्यहरूले घटना पूर्वयोजना अनुसार गरिएको हुनसक्ने संकेत गर्छन्।

प्रहरीले घटनामा संलग्न आरोपमा प्रहरी जवान शम्भु यादव र स्थानीय धर्मनाथ यादव लाई पक्राउ गरी विस्तृत अनुसन्धान सुरु गरेको छ।

प्रहरीले घटनास्थलमा संकलित प्रमाण, प्रत्यक्षदर्शीका बयान र प्राप्त तथ्यांकका आधारमा हत्या कसरी र किन गरियो भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक ३०, शनिवार ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको