जनकपुरधाम, कात्तिक ३० । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउतले नेपालको आन्तरिक राजनीतिक विवादमा मित्रराष्ट्रलाई मुछ्ने प्रवृत्ति दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले नेपालका आन्तरिक समस्या, आन्दोलन र राजनीतिक उतार–चढावलाई विदेशी हस्तक्षेपसँग जोडेर प्रस्तुत गर्नु राष्ट्रहित विपरीत रहेको बताएका छन्।
हिजो मात्रै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको वर्तमान राजनीतिक अस्थिरतामा वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासको नांगो हस्तक्षेप रहेको भनि दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै पूर्व मुख्यमन्त्री राउतले मधेशमा उत्पन्न राजनीतिक तनाव, सात दलको आन्दोलन सहितको विषयमा मुख्यमन्त्री यादवले गलत रूपमा व्याख्या गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरे।
“नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानमाथि कसैले प्रश्न उठाउने परिस्थिती सिर्जना गर्नु हुँदैन,” राउतले भने, “हामीले आफ्नै समस्या आफैं समाधान गर्न सक्ने क्षमता राख्छौं। मित्रराष्ट्रहरूमाथि अनावश्यक आरोप–प्रत्यारोप गर्नु कूटनीतिक रूपमा पनि हानिकारक हुन्छ।”




