सशस्त्र प्रहरी र भारतको एसएसबीबीच नवौँ समन्वयात्मक बैठक सम्पन्न



 काठमाडौं ,  कात्तिक ३०। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीचको नवौँ समन्वयात्मक बैठक भारतको नयाँ दिल्लीमा सफलतापूर्वक सम्पन्न भएको छ। बैठक कात्तिक २६ देखि २८ गतेसम्म सञ्चालन भएको थियो।

दुवै मुलुकका सीमा सुरक्षासम्बन्धी निकायबीच आयोजित यस महत्वपूर्ण बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवत–जावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती लगायतका विषयमा विस्तृत छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यससँगै २०८१ मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेन्डाहरूको समीक्षा गर्दै अबका दिनमा प्रभावकारी कार्यान्वयनका उपायहरूमा समेत दुई पक्षबीच सहमति भयो। सीमा सुरक्षालाई थप मजबुत बनाउँदै पारस्परिक सहकार्य र समन्वयलाई अझ सबल बनाउने निर्णय बैठकका प्रमुख निष्कर्ष बनेका छन्।

बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक  राजु अर्यालले गरेका थिए भने भारतीय पक्षको प्रतिनिधित्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका थिए।

महानिरीक्षक अर्यालसहित सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेतलगायतको टोली कात्तिक २५ मा भारत गएको थियो।

बैठक सम्पन्न गरी नेपाली प्रतिनिधिमण्डल कात्तिक २९ मा स्वदेश फर्किएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १, आइतवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको