एजेन्सी, कात्तिक ३० । बिहार विधानसभा चुनाव २०२५ मा एनडीएले पाएको प्रचण्ड बहुमतपछि राज्यमा नयाँ सरकार गठनका गतिविधि तीव्र बनेका छन्। सरकार गठनको रूपरेखाबारे अन्तिम छलफल गर्न जेडीयूका कार्यकारी अध्यक्ष संजय झा र केन्द्रीय मन्त्री ललन सिंहले शनिबार दिल्लीमा गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार भेटमा मुख्यमन्त्री पददेखि विभागको बाँडफाँड सम्मका विषयमा महत्वपूर्ण छलफल भयो। संजय झा र ललन सिंह शाहलाई भेटेपछि केही बेरमै भाजपा अध्यक्ष जेपी नड्डा पनि शाहको निवास पुगेका थिए, जसले राजनीतिक हलचल अझै बढाएको छ।
यसअघि पनि चुनाव प्रभारी धर्मेन्द्र प्रधान र सह–प्रभारी विनोद तावडेले शाहसँग भेट गरी चुनाव परिणाम र आगामी सरकारको संरचना बारे विस्तृत समीक्षा गरेका थिए। जानकारी अनुसार २२ नोभेम्बरअघि शपथ ग्रहणको मिति टुंगो लाग्ने छ र त्यो प्रधानमन्त्री मोदीको कार्यक्रमअनुसार मिलाइनेछ।
हालका मुख्यमन्त्री नीतीश कुमारले औपचारिक रूपमा राजीनामा नदिएकाले नयाँ सरकार गठन प्रक्रिया सुरु हुन सकेको छैन। उता पटनामा प्रशासनिक हलचल बढ्दै गएको छ भने जेडीयू र भाजपा नेतृत्वले सबै विधायक्षलाई राजधानी उपस्थित हुन निर्देशन दिएका छन्।
सूत्रहरूका अनुसार जेडीयू, भाजपा, हम र आरएलएमका विधायकीय दलका बैठकहरू आगामी हप्ताभर चल्नेछन्। त्यहाँ नेता चयन र सरकार सञ्चालनका नयाँ समीकरणबारे निर्णय हुने अपेक्षा छ। साथै एनडीए विधायकीय दलको संयुक्त बैठक मुख्यमन्त्री आवासमै हुने सम्भावना छ, जहाँ नीतीश कुमारलाई फेरि पनि नेता बनाइने लगभग निश्चित मानिएको छ।
यस निर्वाचनमा भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। जेडीयू र अन्य सहयोगी दल मिलेर एनडीएको संख्या १७४ पुगेको छ। विपरीत, महागठबन्धन यो चुनावमा कमजोर देखियो—राष्ट्रिय जनता दल (राजद) २५ र कांग्रेस ६ सिटमा सीमित रहे।




