काठमाडौं, मंसिर १ । राजदूत फिर्ता प्रकरणमा सरकारले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पालन नगरेको आरोपसहित प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता भएको छ। सर्वोच्चका पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध परेको यो पहिलो अवहेलना मुद्दा हो।
अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि मंसिर ७ गते मिति तोकिएको छ।
यसअघि जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारले अघिल्लो सरकारद्वारा नियुक्त ११ देशका राजदूतहरूलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।
तर आदेश जारी भएको भोलिपल्टै प्रधानमन्त्री कार्की नेतृत्वको परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन पठाएको थियो। मन्त्रालयको निर्देशनअनुसार धेरै राजदूतहरू फर्किएर मन्त्रालयमा उपस्थित भइसकेका छन्।

सर्वोच्चको आदेश बेवास्ता गरिएको दाबी गर्दै दायर भएको यो रिटले सरकार र न्यायालयबीचको संवैधानिक सम्बन्धबारे पुनः बहसलाई बलियो बनाउने देखिएको छ।







