पार्टीको नीति र नेतृत्वलाई जनताले शान्तिपूर्ण रूपमा अस्वीकार गर्यो : योगेश भट्टराई



काठमाडौं, फागुन २५ । योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति र नेतृत्वलाई जनताले शान्तिपूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव भट्टराईले पार्टीको हारपछि आत्मसमिक्षा र रूपान्तरण आवश्यक रहेको बताएका हुन्।

निर्वाचनपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँग गरेको संवादका आधारमा उनले सामाजिक सञ्जालमार्फत ७ बुँदे धारणा सार्वजनिक गर्दै “हामी ढलेका मात्र हौँ, मरेका होइनौँ” भन्ने सन्देश दिएका छन्। उनका अनुसार निर्वाचनमा मतदाताले आफ्नो मतमार्फत पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्, जसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ।



भट्टराईले विगत केही समयदेखि पार्टीले अवलम्बन गरेका नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसबारे खुला बहस हुनुपर्ने बताएका छन्। पार्टीको वर्तमान अवस्थाका लागि नीति मात्र नभई जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरूले पनि जवाफदेहिता लिनुपर्ने उनको भनाइ छ।

उनले केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले पनि सफलता वा असफलताको जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन्। साथै, पार्टीभित्रका नेताहरूलाई पुराना गुटगत घेराबाट बाहिर निस्केर खुला र स्पष्ट बहसमा सहभागी हुन आह्वान गरेका छन्।

भट्टराईले सही नीति, संगठन, नेतृत्व र कार्यशैलीका माध्यमबाट एमाले फेरि उठ्ने विश्वास व्यक्त गर्दै पार्टी एकता कायम राख्न र आत्मसमिक्षाको बाटो अपनाउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन्। साथै उनले बुद्धिजीवी तथा आम नागरिकलाई पनि पार्टीबारे सुझाव र आलोचना दिन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको