एजेन्सी, मंसिर १ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले आज साँझ क्याबिनेट बैठकपछि मुख्यमन्त्री पदबाट राजीनामा गर्ने तयारी गरेका छन्। यससँगै नयाँ एनडीए सरकार गठनको प्रक्रिया अझ तीव्र भएको छ। बिहार विधानसभा चुनावमा एनडीएले प्रचण्ड बहुमत हासिल गरेपछि नयाँ सरकार गठनका लागि अन्तिम तयारी भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सूत्रहरूका अनुसार नयाँ सरकार गठनका लागि मन्त्रिपरिषद् विस्तारको फार्मुला तय भइसकेको छ। राजीनामा दिए पनि आगामी कार्यकालका लागि नीतीश कुमार नै पुनः मुख्यमन्त्री बन्नेछन्। यो उनको दसौँ शपथग्रहण समारोह हुने बताइएको छ, जसका लागि पटना स्थित ऐतिहासिक गान्धी मैदानमा तयारी पूरा हुँदैछ।
बिजेपी बाट १५–१६ मन्त्री बन्ने सम्भावना
सूत्रले दिएको जानकारीअनुसार नयाँ क्याबिनेटमा बिजेपीका १५–१६ मन्त्री सहभागी हुनेछन्। जेडीयूका करिब १४ मन्त्री, एलजेपी (आर) का ३, तथा हम र रालोजपा दुवैबाट १÷१ मन्त्री पाउने सम्भावना छ।
ताजा चुनाव परिणाम अनुसार एनडीएले २०२ सिट जितेर फेरि सत्तामा फर्किएको हो। बिजेजी ८९, जेडियु ८५ , एजेपी आर १९ , हम ५ र आरएलएम ४ सिट जितेका छन ।
त्यस्तै विपक्षी महागठबन्धनमध्ये आरजेडी २५ , काँग्रेस ६ , माले ३ र सिपिएम १ सिट जितेका छन ।
साथै ओवैसी नेतृत्वको एआइएमआइ ५ सिट र बसपाले १ सिट जितेको छ।
बिहारमा सत्ता हस्तान्तरणको अन्तिम चरणसँगै क्याबिनेट बैठक र सम्भावित राजीनामाले नयाँ सरकार गठनको बाटो खुल्नेछ।




