एजेन्सी, मंसिर १ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको छ। ५ गम्भीर आरोपमा चलेको मुद्दाको सुनुवाइ गत असोज ६ (अक्टोबर २३) मा सकिएको थियो। त्यसपछि फैसला सुरक्षित राखिएको थियो।
हसिनामाथि ५ अगस्टको चंखारपुल घटनामा ६ जना प्रदर्शनकारीको हत्या गरेको निर्देशन दिएको आरोप छ। अदालतका अनुसार तत्कालीन गृह मन्त्री र प्रहरी महानिरीक्षकले हसिनाकै आदेशमा बल प्रयोग गरेका थिए, जसमा धेरै विद्यार्थीले ज्यान गुमाएका थिए।
तीन न्यायाधीशको इजलासको नेतृत्व गर्दै जस्टिस मोहम्मद गोलाम मजूमदारले फैसला सुनाउँदै भने– “शेख हसिनाले मानवता विरुद्ध अपराध गरेकी छन्। उपलब्ध प्रमाणले उनी सर्वाधिक कडा सजायको योग्य ठहरिन्छिन्।”
फैसला ४०० पृष्ठ लामो रहेको र ६ भागमा विभाजन गरिएको बताइएको छ। अदालतले फैसला सार्वजनिक अघि प्रत्येक खण्ड पढेर अभिलेखमा राख्ने प्रक्रिया जारी भएकाले केही ढिलाइ भएको जनाएको छ।
यस मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अलमाथि पनि आरोप लगाइएको छ।
फाँसीको माग बढिरहेका बेला हसिनाले आफू निर्दोष रहेको दाबी गर्दै भनिन्– “मलाई कुनै डर छैन। जीवन अल्लाहले दिनुभएको हो, उहाँले नै फिर्ता लिनुहुन्छ। म बंगलादेशका जनतामा पूर्ण विश्वास गर्छु।”
उनी भन्छिन् कि मानवअधिकार उल्लङ्घन गरेको आरोप राजनीतिक रूपमा प्रेरित छ र आफूले १० लाख रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिएर नै मानवताको रक्षा गरेको प्रमाणित भएको बताइन्।




