ओम प्रकाश यादव
रौतहट, मंसिर १ । रौतहटको देवाही गोनाही नगरपालिकाको ११औं नगर सभा तथा १०औं बजेट अधिवेशन आइतबार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
राजनीतिक खिचातानी, प्रशासकीय अधिकृत पद रिक्त रहनु, तथा अन्य प्रशासनिक कारणले निर्धारित समयमै नगर सभा बस्न नसकेको देवाहीले झण्डै चार महिना ढिला गरी अधिवेशन सम्पन्न गरेको हो।
नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा बसेको नगर सभाले चालू आर्थिक वर्ष २०८२र०८३ का लागि ५३ करोड १६ लाख ३२ हजार ६७६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
अधिवेशनमा वडा अध्यक्ष राम प्रवेश पटेलले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नगर प्रमुख साहका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो बजेट प्रस्तुत गरिएको हो।
नगरपालिकाले यो वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सडक विस्तार तथा सामाजिक क्षेत्रमा विशेष प्राथमिकता दिएको जनाइएको छ।
नियम अनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने तथा असार मसान्तभित्र नगर सभाबाट पारित गर्नुपर्ने प्रावधान छ। तर देवाही गोनाहीमा उत्पन्न राजनीतिक तथा प्रशासनिक जटिलताका कारण यो प्रक्रिया समयमै हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले जानकारी दिए।
आज बसेको नगर सभा भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले जानकारी दिए।
नगर प्रमुख साहका अनुसार चालू आर्थिक वर्षका लागि प्रस्तुत बजेटले नगरपालिकाले अघि सारेको दीर्घकालीन विकास दृष्टिकोण अनुरूप शिक्षा, स्वास्थ्य, कृषि विकास, खानेपानी, सडक तथा पूर्वाधार निर्माण जस्ता क्षेत्रमा उच्च प्राथमिकता दिएको छ।
उनका अनुसार स्थानीयस्तरमा सेवा प्रवाहलाई मजबुत बनाउने, प्राथमिक स्वास्थ्य सेवा पहुँच विस्तार, कृषि आधारित उद्यम प्रवर्द्धन तथा बस्तीसम्म सडक पहुँच सुधार गर्ने लक्ष्यसहित बजेट तयार गरिएको हो।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी असार मसान्तभित्र नगर सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ। तर देवाही गोनाहीमा राजनीतिक खिचातानी, प्रशासकीय अधिकृत अभाव, र आन्तरिक समन्वयमा देखिएका समस्याहरूका कारण यो प्रक्रिया समयमै अघि बढ्न सकेन।
चार महिना ढिलाइसँगै आज सम्पन्न भएको नगर सभामा नगर उप प्रमुख परनिया देवी पटेल, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, सबै वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।
नगर सभा नहुँदा विकास तथा पूर्वाधार निर्माणका विभिन्न कार्य अवरुद्ध बनेका थिए। तर आजको अधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न भएसँगै अब विकास–निर्माणका काम सुचारू हुने र नगरको योजना कार्यान्वयनले गति लिने अपेक्षा गरिएको छ।
देवाही गोनाही नगरपालिकाले बजेट तथा कार्यक्रम पारित भएको दिनलाई नयाँ उत्साह र विकासको मार्ग खुल्ने दिनका रूपमा लिएको छ।
नगर सभा नहुँदा धेरै योजनाहरू रोकिएका, कागजी प्रक्रिया अगाडि बढ्न नसकेको र विकास तथा पूर्वाधार निर्माणका कामहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था थियो।
तर नगर सभा सम्पन्न भएसँगै अब विकास योजनाहरू सूचारू रूपमा अघि बढ्ने, बजेट शीर्षकअनुसार कार्यान्वयन सुरू हुने तथा जनताले प्रत्यक्ष सेवा पाउने अपेक्षा नगरपालिकाले गरेको छ।




