एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिडदै



काठमाडौं, मंसिर १ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आजबाट सुरु हुँदैछ। फ्लड लाइट र प्यारापिटसहित स्तरोन्नति गरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल आयोजना हुन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार एनपीएलको आधिकारिक उद्घाटन अपरान्ह २ बजे हुनेछ भने उद्घाटन खेल साँझ ४ बजे सुरु हुनेछ। मंसिर २७ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन्।



यसपटक मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ। फ्लड लाइटको सुविधा थपिएपछि अन्य देशका आधुनिक मैदान सरह रातिका खेल पनि सम्भव बनेका छन्। सहरी विकास मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक संरचना क्यानलाई प्रतियोगिता सुरु हुनु अघिल्लो साँझ नै हस्तान्तरण गरेको थियो।

उद्घाटन खेलमा साविक च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। गत सिजन जनकपुरले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो।

क्यानका अनुसार यस वर्षका सबै खेल कीर्तिपुरमै हुनेछन्। दैनिक ९,४५० टिकट बिक्री गरिने जनाएको छ। उद्घाटन खेलका टिकट दुई दिनअघि नै बिक्री सकिएको हो।

उद्घाटन दिन साधारण ५००, प्रिमियम १,५००, लिग चरणमा साधारण ५००, प्रिमियम १,००० ,प्लेअफ–फाइनल साधारण १,०००, प्रिमियम २,०००्, सिजनल पास १५,००० टिकट निर्धारण गरिएकोछ ।
पुरस्कार राशिमा विजेतालाई रु १ करोड १० लाख, उपविजेतालाई रु ५१ लाख, तेस्रोलाई रु २५ लाख र चौथोलाई रु १५ लाख तोकिएको छ।

यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टिम सहभागिता जनाउँदैछन्। क्यानले यसपटक एनपीएलबाट रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको