केन्द्रीय समितिमा बहुमत देखाएर कांग्रेस संस्थापन पक्ष १५ औँ महाधिवेशन ‘धकेल्ने’ तयारीमा



काठमाडौं, मंसिर २ । नेपाली कांग्रेसको आन्तरिक विवाद चुलिँदै गइरहेका बेला संस्थापन पक्षले केन्द्रीय समितिमा बहुमत देखाएर १५ औँ महाधिवेशनलाई पछाडि सार्ने योजना अघि बढाएको स्रोतले जनाएको छ। सात जना पूर्वपदाधिकारीको पहलमा संस्थापन समूह सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिका पारित गराउने रणनीतिमा सक्रिय देखिएको छ।

कात्तिक १८ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ को कार्यतालिका प्रस्तुत गरेका थिए भने सहमहामन्त्री यादवले महाधिवेशन वैशाख २७–२९ मा गर्ने प्रस्ताव अघि सारेका थिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुबै प्रस्ताव व्यक्तिगत रूपमा आएको भन्दै सहमतिको प्रयासमा बैठक स्थगित गर्दै आएका छन्।

सात पूर्वपदाधिकारीहरूबीच शनिबार बानेश्वरमा बसेको बैठकले मतविभाजनमार्फत विवाद समाधान गर्ने निष्कर्ष निकालेपछि संस्थापन पक्षले यादवको प्रस्ताव पारित गर्न दबाब बढाएको हो। उनीहरू विशेष महाधिवेशनको मागलाई पनि आवश्यक नभएको निष्कर्षतर्फ लैजान चाहिरहेका छन्। संस्थापन समूहको बहुमत बलियो रहेकाले भोटिङ प्रक्रिया आफ्नो पक्षमा जाने विश्वास उनको छ।

तर, संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्य भने निर्वाचनअगाडि नै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। उनीहरूले खड्कालाई लिखित रूपमा ध्यानाकर्षणसमेत गराएका छन्।

यसबीच, सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवाले विवाद समाधानका लागि भेटघाट थालेका छन्। देउवा विशेष महाधिवेशन टार्न नियमित महाधिवेशनतर्फ झुकाव देखाइरहेकाछन्। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको सन्देश जाने भएकाले उनले नियमित महाधिवेशनबाटै अवकाशको तयारी गरिरहेको नेताहरूको दाबी छ।

जेन–जी आन्दोलनपछि मुद्दा उठाउँदै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने अब विशेष महाधिवेशनकै पक्षमा खुला रूपमा उभिएका छन्। विशेष महाधिवेशन नबोलाइए आफूहरू पदबाट राजीनामा दिन पनि तयार रहेको चेतावनी शर्माले सभापतिलाई दिएका छन्।

कांग्रेसभित्रको सत्ता–संघर्ष र महाधिवेशनको समयसीमा सम्बन्धी विवाद अझै समाधानको संकेत नदेखिँदा पार्टीको आन्तरिक राजनीतिको दिशा अनिश्चित बनेको छ।

प्रकाशित मिति: २०८२ मंसिर ३, मंगलवार ०८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको