दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा



काठमाडौं, मंसिर २। राजावादी धारका व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनको निजी निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को संयुक्त टोलीले सोमबार मध्यराततिर प्रसाईंलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीका अनुसार प्रसाईंले पछिल्ला दिनमा दिएको अभिव्यक्ति र गतिविधिले हिंसा भड्काउने, अराजकता निम्त्याउने तथा सार्वजनिक सुरक्षामा असर पार्ने सम्भावना देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। सामाजिक तथा राजनीतिक तनाव बढ्न सक्ने प्रकारका बयानहरू सार्वजनिक गर्दै आएका प्रसाईंलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रसाईं यसअघि पनि विवादित गतिविधिका कारण प्रहरीको निगरानीमा थिए। १५ चैतमा भएको हिंसात्मक आन्दोलनका क्रममा उनी पक्राउ परेका थिए। त्यसबेला सार्वजनिक सम्पत्ति ध्वंस, भीड नियन्त्रण उल्लंघन र हिंसा प्रोत्साहनको आरोपमा पक्राउ गरिएका उनी केही समयपछि अदालतको आदेशमा रिहा भएका थिए।

पछिल्ला दिनमा प्रसाईंले राजतन्त्र पुनर्स्थापनाको माग, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गर्नुपर्ने तथा सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्ने तयारी गर्दै आएका थिए। प्रहरीका अनुसार उनी पुनः ठूलो संख्यामा भीड जुटाएर राजनीतिक दबाब सिर्जना गर्ने योजनामा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रसाईंलाई महानगरीय प्रहरी वृत्त अन्तर्गतको हिरासतमा राखेर थप सोधपुछ भइरहेको छ। अदालतमा प्रस्तुत गर्ने प्रक्रिया सुरु गरिएको प्रहरीले बताएको छ।

यस घटनाले देशभर फेरि एकपटक प्रसाईंको विवादास्पद अभिव्यक्ति, आन्दोलन शैली र राजनीतिक उपस्थितिबारे छलफल चर्किएको छ। कानून व्यवस्था चुनौतीमा परेको भन्दै सरकारले कडाइका साथ निगरानी र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ३, मंगलवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको