काठमाडौँ , मंसिर २ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गत वर्ष चैत १५ गते आन्दोलनको रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजककी श्रमितिलाई रोजगारी उपलब्ध गराएका छन । उनले पयत्रकार रजकलाई शहीद घोषणा गर्न पहल गर्ने घोषणा समेत गरेका छन्।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेलले स्वर्गीय रजककी श्रीमती सूजन मगियालाई सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा रोजगारी प्रदान गर्दै उनले अध्ययन गर्न चाहे सरकार र व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।
मन्त्री खरेलले भने, “सुरेशलाई पत्रकार शहीदको रूपमा घोषणा गरिनुपर्छ। सरकारले यसको प्रक्रिया अघि बढाउनुपर्नेमा म प्रतिवद्ध छु।”
उनले सूजनका लागि रोजगारी कानुनअनुसार उपलब्ध गराइएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रोजगारीमा रूपान्तरण गर्न सकिने बताए।
मन्त्री खरेलले सूजनले पढाइ जारी राख्न चाहे छात्रवृत्ति, शुल्क छुट र सहज अध्ययन वातावरण तयार गर्न आफू प्रतिबद्ध रहेको बताए।
पत्रकार रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङ गर्दै गर्दा भीड व्यवस्थापनका बीच मृत्यु भएको थियो।
सरकारले शालिक बनाउन प्रक्रिया अघि बढाइरहेको
मन्त्री खरेलका अनुसार सरकार रजकको शालिक निर्माण प्रक्रिया अध्ययन गरिरहेको छ र यसबारे छिट्टै निर्णय हुनेछ।
उनले घटनाको व्यापक छानबिन गर्नुपर्ने आवश्यकता पनि दोहोर्याए।




