काठमाडौं, मंसिर २। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ। सुरुवाती रूपमा वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने मागसहितको नोटिस देखिएको थियो। हाल सो नोटिस हटाइयो र वेबसाइट पूर्ण रूपमा बन्द छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै अहिले त्यसलाई रिकभर गर्ने काम जारी रहेको बताए।
प्रवक्ता काफ्लेले भने, “साइट ह्याक भएको छ। हाल पुनःस्थापना गर्ने प्रक्रिया चलिरहेको छ। उपलब्ध जानकारीअनुसार महत्त्वपूर्ण डाटाहरू सुरक्षित छन्।”
ह्याक भएपछि विभागको वेबसाइट अहिले चल्दैन। कसले र कहाँबाट ह्याक गर्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको काफ्लेले जानकारी दिए।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नागरिकको विवरण राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएको भए पनि, ह्याक भएको वेबसाइटमा राष्ट्रिय परिचयपत्रका संवेदनशील विवरण नरहेको विभागका कर्मचारीहरूले स्पष्ट पारेका छन्।
एक कर्मचारीका अनुसार, “यो एक सामान्य सूचना प्रकाशन गर्ने वेबसाइट हो। यहाँ रहेका सामान्य डकुमेन्टहरू मात्र सुरक्षित छन्, व्यक्तिगत विवरणहरू यसमा राखिँदैन।”
यस घटनापछि साइबर सुरक्षामा थप सतर्कता आवश्यक रहेको विशेषज्ञहरू बताउँछन्।




