जनकपुरधाम, मंसिर ३ । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पदीय आचरण विपरीत कार्य गरेको आरोपमा प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतले पदमुक्त गरेको छ।
सात दलीय गठबन्धनले नेपालको संविधानको धारा १८२ को उपधारा ६ (ग) बमोजिम सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। त्यही प्रस्तावमाथि आज सम्पन्न छलफल र मतदानबाट मण्डल पदमुक्त भएका हुन्।
प्रस्तावको पक्षमा सात दलका ७६ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित मतदान गरेका थिए, जबकि सभामुख मण्डलसहित एमाले सांसदहरू बैठकमा अनुपस्थित रहे। अनुपस्थितीका कारण प्रस्तावको विपक्षमा एक मत समेत परेन।
अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरूले, तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको विश्वासको मत प्रक्रियामा सभामुख मण्डलले “पदीय मर्यादा उल्लङ्घन गर्दै पक्षपातपूर्ण निर्णय गरेको” आरोप लगाउँदै आएका थिए। यही कारण सात दलिय गठबन्धन सभामुखविरुद्ध कडा रूपमा उभिएको थियो।
बैठकको अध्यक्षता उपसभामुख बबिता राउतले गरेकी थिइन्।
यो घटना नेपाली संसदीय इतिहासमै पहिलोपटक कुनै सभामुखलाई अविश्वास प्रस्तावमार्फत पदमुक्त गरिएको उदाहरण मानिएको छ। यसअघि संघीय संसदमा तत्कालीन सभामुख अग्नी सापकोटाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भए पनि प्रक्रिया अघि बढाइएको थिएन।




