काठमाडौं, मंसिर ३ । प्रतिनिधि सभा विघटनको कडा विरोध गरिरहेको नेकपा एमालेले पुनर्स्थापनाको मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी पूरा गरेको छ। मंगलबार बसेको एमालेको विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट दर्ताका लागि आधिकारीक रूपमा जिम्मेवारी दिएको हो।
एमालेका अनुसार रिटमा अन्तरिम आदेश नचाहिने र नियमित प्रक्रिया अनुसार सुनुवाइ गरेर निर्णय दिइयोस् भन्ने माग मात्र रहनेछ।
नेता महेश बर्तौलाका अनुसार बिहीबार र शुक्रबार कानुनविद्हरूसँग विस्तृत छलफल र आवश्यक कागजपत्र तयारी पछि आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरिने छ।
उनका अनुसार, रिट ‘व्यक्तिगत नभई सिङ्गो एमालेका ७९ सांसदको प्रतिनिधित्वमा’ दायर हुनेछ। दलको बैठकको निर्णयलाई नै रिटको मुख्य आधार बनाइने बताइएको छ।
पार्टीले अन्य राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू लाई प्रतिनिधि सभा विघटनविरुद्ध संगठित रूपमा उभिन आह्वान गरेको छ।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गते निर्वाचन मिति घोषणा गरेका थिए।
उक्त विघटनलाई असंवैधानिक भन्दै एमाले पुनर्स्थापनाका लागि कानुनी लडाइँमा उत्रिएको हो।




