सामान्य भेटघाटलाई अनावश्यक प्रचारबाजी गरियो : अध्यक्ष मण्डल



जनकपुरधाम, मंसिर ३ । महोत्तरीको एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि संगको सामान्य भेटघाटलाई अनावश्यक प्रचारबाजी गरिएको बताएका छन् । काठमाडौंमा जारी एनपीएल सिजन–२ को उद्घाटन शत्रमा जनकपुर बोल्टलाई समर्थन गर्न पुगेको र फर्कने बेलामा केही जनकपुरधामका साथिहरुले नेपाली कांग्रेसका नेता निधि संग भेटघाट गरौं भनेपनि मात्रै आफू गएको उनले बताए ।

दुई दिन देखि एकडारा गाउँपालिकाका अध्यक्ष मण्डल नेपाली कांग्रेसमा प्रवेश गरेको भन्दै अनावश्यक प्रचारबाजी भईरहेको बेला अध्यक्ष मण्डलले यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने–‘आफूलाई नेपाली कांग्रेसमै जानुथियो भने पहिला नै गई सकेका हुन्थ्यौं, म मधेशवादको सच्चा सिपाही छु ।’

नेता निधि संगको भेटघाटमा सामान्य राजनीति कुरा चल्नु स्वभाविक रहेको बताउँदै अध्यक्ष मण्डलले आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्वन्धमा तथा जिल्लाको राजनीति विषयमा सामान्य छलफल भएको स्वीकारे । उनले भने–‘कुनै केन्द्रीय तहका नेता संग भेटघाट हुँदा राजनीतिक कुरा चल्नु स्वभाविक हो तर पार्टी प्रवेश गर्ने सन्दर्भमा कुनै कुरा नत उहाँले नै उठाउनु भयो नत मैलेनै कुनै चासो राखे ।’

सामान्य भेटघाटलाई अतिरञ्जित बनाएर प्रस्तुत गर्नु विपक्षीहरुको चलखेल रहेको उनको आरोप छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेशी जनताको हकहीतमा काम गरिरहेको बताउँदै उनले भने–‘नेपाली कांग्रेस मधेशका जनताको पक्षमा उभिएको भए मधेशी जनता आजको अवस्थामा हुने थिएन् ।’

आज जनता नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी वाट अजिज भएको बताउँदै अध्यक्ष मण्डलले भने–‘मधेशी जनताको पक्षमा मात्र मधेशवादी दल उभिएको छ, आफूलाई राष्ट्रिय पार्टी भनाउनेहरु मात्र आफ्नो कुर्सी र पार्टी बचाउन लागेका छन् । उनीहरु देश भन्दा ठूलो पार्टीलाई बनाउन लागेका छन् ।’

भर्खरै भएको जेनजी आन्दोलनका साथिहरुले उठाएका मागहरु हाम्रो पार्टी जसपा नेपाल विगत देखि उठाएका कारण आफ्नो पार्टीमा दुरदर्शीता रहेको र समग्र नेपालकै विकास तथा विकासको रोडम्याप जसपा नेपाल संग रहेको उनको दावी थियो । जसपा नेपालले लिएको लक्ष्य पार्टीका अध्यक्ष वा पार्टी पंक्तिले विर्से पछि मात्रै सच्चा नेता कार्यकर्ता अन्य पार्टी प्रवेश गर्ने तिर सोच्छन् तर आफ्नो पार्टी आफ्नो लक्ष्य तिर अगाडि बढ्का कारण यो अन्य पार्टी जानुको कुनै तुक नरहेको उनको भनाई थियो ।

हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मुलुकको रोड म्याप लिएर अगाडि बढि रहेका छन् उनलाई मुलुकको नेतृत्वको मात्रै कमी रहेको बताउँदै अध्यक्ष यादवले निकट भविष्यमा मुलुकलाई बनाउने र विकासको बाटोमा डोर्याउने जिम्मेवारी हाम्रो अध्यक्षले पाउने उनले दावी गरे ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको