कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको मिति र स्थलबारे छलफल हुने.



काठमाडौँ, मंसिर ४। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक महाधिवेशन केन्द्रित रहे पनि पटक–पटक निष्कर्षमा नपुगेपछि स्थगित हुँदै आएको थियो।

पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा एकमत नदेखिएपछि यस मुद्दामा सहमति बनाउन आज पुनः छलफल हुँदैछ। बैठक एक सातासम्म रोकिएको थियो, तर पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पछिल्ला दिनमा दिएको सुझावलाई आधार बनाएर आज निर्णयको दिशामा बढ्ने अपेक्षा गरिएको छ।

बिहीबारसम्म पदाधिकारी र सदस्यहरूले महाधिवेशनको मिति, तयारी, संगठन सुदृढीकरण तथा आन्तरिक प्रक्रियाबारे विस्तृत सुझाव पेस गरेका थिए। कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए।

यता सह–महामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने वैकल्पिक कार्यतालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावको पक्ष–विपक्षमा बहस चलिरहेको छ। नेताहरूबीच समय, तयारी, राजनीतिक परिस्थिति र संगठनात्मक अवस्थाबारे फरक धारणा देखिएपछि निष्कर्षमा पुग्न बैठकले महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।

नेपाली कांग्रेसको महाधिवेशन केवल नेतृत्व चयन प्रक्रिया मात्र नभई पार्टीको आगामी नीति, रणनीति र संगठनगत दिशा–निर्देशन तय गर्ने प्रमुख अभ्यास हो। त्यसैले आज सुरु हुने बैठकबाट महाधिवेशनको मिति र सम्भावित स्थलबारे ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ५, बिहिवार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको