हेटौंडा, मंसिर ४। भारतको राजदूतावास, काठमाडौंद्वारा हेटौंडामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री कुलमान घिसिङ लाई ७० मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न आवश्यक विशेष उपकरणहरू हस्तान्तरण गरिएको छ।
यो पुल भारतीय प्राविधिकहरूको सहयोगमा नेपाली प्राविधिकहरूसँग मिलेर जडान गरिनेछ। यस प्रक्रियाले नेपाली प्राविधिकहरूलाई लामो स्प्यान मोड्युलर पुलहरूको स्थापनामा व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ।
सन् २०२५ अक्टोबरमा आएको बाढीले राष्ट्रिय सडक पूर्वाधारमा ठुलो क्षति पुर्याएपछि भारत सरकारले नेपाललाई बाढीले अवरुद्ध पारेका महत्त्वपूर्ण सडक मार्ग पुनर्निर्माण र कनेक्टिभिटी सुदृढ गर्न नेरु। ७३ करोडभन्दा बढी लागतमा ७०–मिटर र सोभन्दा लामो १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिज अनुदानको आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
यसअघि, सन् २०२४ सेप्टेम्बरमा आएको बाढीले क्षतिग्रस्त सडक पूर्वाधार पुनर्स्थापनाका लागि भारतले नेपाललाई नेरु। ४१ करोडभन्दा बढी लागतमा १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिज उपलब्ध गराइसकेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले पुल हस्तान्तरण कार्यक्रमलाई ऐतिहासिक र महत्वपूर्ण उपलब्धि भनेका छन्। पुल जडानपछि प्रभावित क्षेत्रका समुदायलाई यातायात सुगमता, आपूर्ति र आपतकालीन पहुँचमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
भारतको यो सहयोगले दुई देशबीचको मैत्री सम्बन्ध र प्राविधिक साझेदारी अझ बलियो बनाउने अपेक्षा गरिएको छ।




