ईश्वर पोखरेल अध्यक्षमा उठ्‌ने पक्का, ८ मंसिरमा उम्मेदवारी घोषणासभा



काठमाडौं ,मंसिर ४। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा आज १ बजे बस्न लागेको सचिवालय बैठकमा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्न लागेका छन् ।

आज सचिवालयमा आफ्नो प्रस्ताव राखेपछि ८ मंसिरमा औपचारिक कार्यक्रम गरेर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने गरी पोखरेलले तयारीसमेत गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

‘हिजो पदाधिकारीहरूको बैठक बसेर आज सचिवालयमा कसरी प्रस्तुत हुने र ८ मंसिरमा कहाँ कसरी घोषणा कार्यक्रम गर्ने भन्ने विषयमा सहमति भएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘राष्ट्रियसभा र प्रज्ञा प्रष्तिठानमध्ये एक ठाउँमा घोषणा कार्यक्रम गर्ने गरी टुंगिएको छ ।’ उनका अनुसार ८ मंसिरमा अध्यक्षको उम्मेदवारी मात्र घोषणा हुनेछ ।

पोखरेलनिकट स्रोतका अनुसार नवौँ र दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिएको सन्दर्भ जोड्दै आफूलाई यसपटक सर्वसम्मत अध्यक्ष बनाउन सचिवालयमा प्रस्ताव राख्न लागेका हुन् । ‘ओलीकै प्रस्तावमा अध्यक्ष हुन चाहेको कुरा सचिवालय बैठकमा आज ईश्वर कमरेडले राख्नुहुन्छ,’ पोखरेलनिकट एक नेताले भने, ‘नवौँ र दशौँ महाधिवेशनमा ओलीलाई दिएको साथका कारण ११औँ महाधिवेशनमा ओलीले ईश्वर कमरेडलाई अध्यक्षको प्रस्ताव गर्नुपर्छ भन्ने धारणा आजको बैठकमा उहाँले राख्नुहुन्छ ।’

एमालेको ११औँ महाधिवेशन यही २७ देखि २९ मंसिरमा काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: २०८२ मंसिर ५, बिहिवार १२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको