जनकपुरधाम, मंसिर ४ । बाराको सिमरा क्षेत्रमा एमाले नेताहरूको आगमनलाई लिएर उत्पन्न तनावको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएकी छन्। सुरक्षा परिषद्को सचिवालयका अनुसार बैठक आज केही बेरमा सिंहदरबारमा बस्ने भएको हो।
बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने भनिएको कार्यक्रममा विरोध जनाउँदै जेनजी युवाहरू सडकमा उत्रिएका थिए। विरोधका क्रममा सिमरा विमानस्थल क्षेत्रमा तोडफोड भएपछि स्थानीय प्रशासनले अनिवार्य कर्फ्यु जारी गरेको थियो। सुरूमा जारी गरिएको कर्फ्यु अवधि बिहीबार राति ८ बजेसम्म पुनः लम्ब्याइएको छ।
बुधबारदेखि सुरु भएको तनाव रोकिएकै नभएपछि प्रशासन सतर्क बनेको छ। सुरक्षाकर्मीको तैनाथी बढाइएका साथै सम्भावित झडप रोक्न संवेदनशील स्थानहरूमा निगरानी कडा पारिएको छ। विमानस्थल क्षेत्र विशेष जोखिमयुक्त देखिएको छ।
यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले आगामी निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको थियो। मन्त्रालयमा पत्र पुगेपछि अब सेना परिचालनबारे अन्तिम निर्णय सुरक्षा परिषद्ले गर्नेछ। आजको बैठकमा यही विषयलाई प्राथमिकता दिइने बताइएको छ।
बारामा निरन्तरको तनावले स्थानीय जनजीवन प्रभावित भएको छ। बजार क्षेत्रमा कारोबार ठप्प छ भने विद्यालयहरू पनि बन्द रहेका छन्। स्थानीय प्रशासनले संयमित रहन आग्रह गरेको छ।
स्थिति थप जटिल नबढोस् भनेर केन्द्र सरकारले चासो बढाएको अवस्थामा प्रधानमन्त्रीद्वारा बोलाइएको सुरक्षा परिषद् बैठकबाट महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।




