निर्वाचन सुरक्षा सुनिश्चित गर्न सेना परिचालनको सिफारिस



काठमाडौं, मंसिर ४ । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकमा प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेनाको परिचालन आवश्यक रहेको निर्णय गरिएको हो।

बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को आठौं बार्षिक प्रतिवेदनको मस्यौदा छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गर्ने निर्णय समेत गरिएको छ। प्रतिवेदन स्वीकृत भएपछि राष्ट्रपति समक्ष पेश गरिनेछ, जानकारी रक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले दिएका छन्।

बैठकमा राष्ट्रिय सुरक्षा सम्बन्धी आउन सक्ने विविध चुनौतीहरू, हालै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका घटनाक्रमले सुरक्षा प्रणालीमा पार्न सक्ने प्रभाव, र भावी रणनीतिहरूबारे विस्तृत छलफल भएको परिषद्को सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल र अन्य सदस्यहरू उपस्थित थिए।

सुरक्षा परिषद्ले आगामी निर्वाचनलाई सुचारु, निष्पक्ष र शान्तिपूर्ण बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो निर्णयले आगामी निर्वाचनमा जनताको विश्वास र लोकतान्त्रिक प्रक्रियाको मजबुत आधार तयार पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ५, बिहिवार १८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको