जनकपुरधाम, मंसिर ५ । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदैछ । परम्पराअनुसार फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरूपमा सिँगारिएका व्यक्तिहरूलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जसले राम–जानकीको पहिलो भेटको कथालाई स्मरण गराउँछ ।
आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम रहेको छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा सजिएकाहरूलाई फूलबारीमा घुमाइन्छ, जसले ऐतिहासिक र धार्मिक महत्त्वको झल्को दिन्छ ।
जनकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार, त्रेतायुगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका राम र लक्ष्मण जब फूलबारी घुम्न पुगे, त्यहीँ राम र सीताको पहिलो नजर भेट भएको थियो । यही क्षणबाट दुवैको आकर्षण सुरु भएको र जानकीले राम जस्तै वर पाउने कामना गरेको जनाइएको छ ।
महोत्सवको पहिलो दिन बिहीबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो । यस क्रममा श्रद्धालुहरूले रीतिरिवाज अनुसार नगरदर्शनको रमाइलो दर्शन गर्ने अवसर पाएका थिए ।
विवाहपञ्चमी महोत्सव आगामी ६ दिनसम्म चल्नेछ र भोलि ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवासहित जनकपुरधामलाई धार्मिक र सांस्कृतिक रूपमा उत्सवको माहोलमा रङ्गीन बनाउनेछ ।
महोत्सवले न केवल धार्मिक महत्त्व बोकेको छ, तर स्थानीय समुदाय र भक्तजनबीच सांस्कृतिक एकता र आनन्दको वातावरण पनि सिर्जना गरेको छ ।






