काठमाडौँ ,मंसिर ५ । नेकपा एमालेमा ११औं महाधिवेशनको तयारीका लागि अरु पदाधिकारी लाई जिम्मेवारी दिँदा सचिव योगेश भट्टराईलाई बेवास्ता गरिएको छ । अरु पदाधिकारी र सचिवलाई महाधिवेशन तयारीका विभिन्न समितिको संयोजक बनाइएको छ । तर, प्रभावशाली र युवानेता भट्टराईको यो सूचीमा नाम छैन ।
आगामी २७ देखि २९ मंसिरसम्म काठमाडौंमा गर्न लागिएको महाधिवेशनको तयारीमा एमाले जोडतोडले लागेको छ । यसै तयारीका लागि बिहीबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा एमाले सचिवालयको बैठक बसेको थियो । ६ घण्टासम्म चलेको बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न समितिका संयोजक र सचिव चयन गर्यो । यस्ता समितिमा महासचिव, उप–महासचिव, सचिव, स्थायी कमिटी सदस्यहरूलाई विभिन्न समितिमा संयोजक र सचिव बनाइएको छ ।
६ सचिवमध्ये पाँच जनाले विभिन्न समितिको जिम्मेवारी पाएका छन् । अर्थात् संयोजक बनाइएको छ । तर योगेश यस्तो जिम्मेवारीमा अटाएका छैनन् । प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिव माधव ढुंगेललाई बनाइएको छ । जनपरिचालन समितिमा उप–महासचिव प्रदीप ज्ञवाली संयोजक बनदा राजन भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् ।
आवास व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी सचिव छविलाल विश्वकर्मा र सचिव लालबाबु पण्डितलाई बनाइएको छ । खाद्य व्यवस्थापन समितिको संयोजक सचिव लेखराज भट्ट र सचिव केन्द्रीय कार्यालयका मुख्य सचिव भीष्म अधिकारीलाई बनाइएको छ ।
सचिव गोकर्ण विष्टले यातायात व्यवस्थापन समितिको संयोजक पाउँदा रचना खड्मा यसमा सचिव बनेकी छिन् ।
अतिथि सत्कार समितिको संयोजकमा अर्का सचिव रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव भएका छन् । स्वयम्सेवक परिचालन समितिको संयोजक स्थानीय कमिटी सदस्य भानुभक्त ढकाललाई बनाइएको छ । यसमा विनोद पाण्डे सचिव छन् ।
प्रचार समितिको संयोजक सचिव पद्या अर्याल र सचिव राजेन्द्र गौतमले पाएका छन् । मञ्च व्यवस्थापन समितिको संयोजक विनोद श्रेष्ठ र सचिव लोकबहादुर भण्डारीलाई बनाइएको छ ।
स्वास्थ्य समितिमा संयोजक कृष्णगोपाल श्रेष्ठ, सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्षलाई बनाइएको छ । उपमहासचिव विष्णु रिमालले आर्थिक समितिको संयोजक पाउँदा यसमा बिना श्रेष्ठले सचिवको भूमिका पाएकी छन् । निर्वाचन संयोजन समितिको संयोजक डा। विजय सुब्बालाई बनाइएको छ ।
यसरी अन्य पदाधिकारीलाई संयोजकसरहको भूमिका दिइँदा नेता सचिव भट्टराई मात्रै छुटेका हुन् । शंकर पोखरेल संयोजक रहेको सचिवालयमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र योगेश भट्टराईलाई सदस्य बनाइएको छ ।
किन पाएनन् योगेशले प्रमुख जिम्मेवारी ?
योगेशबाहेकका पदाधिकारीलाई मुख्य जिम्मेवारी दिँदा योगेशलाई मात्रै किन सदस्य बनाएँ भनेर पार्टीभित्रै प्रश्न उठेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई यसबारेमा सोध्न खोज्दा उनले कुनै जवाफ दिएनन् । महासचिवलाई सोध्नुस् भन्दै पन्छिए ।
एमाले स्रोतका अनुसार पछिल्लो जेन–जी आन्दोलनपछि योगेशले पुरानै ढर्राले पार्टी चल्दैन भन्दै अभिव्यक्ति दिएपछि अध्यक्ष ओली असन्तुष्ट बनेका छन् । यसैले अरुले संयोजकसरहको जिम्मेवारी पाउँदा महाधिवेशनका लागि बनेको सचिवालयमा भट्टराईलाई सदस्य मात्रैको जिम्मेवारी दिइएको हो ।
जेन–जी आन्दोलनको मुख्य निसाना नै परम्परागत नेतृत्व भएको भन्दै योगेशले यसअघिदेखि नै ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढाएका थिए । उनले १६ पृष्ठ लामो प्रस्ताव पेस गर्दै ओलीलाई दुईवटा विकल्प दिएका थिए । असोजको अन्तिममा उनले ओलीले तत्काल अध्यक्ष पद छोडेर वरिष्ठ नेतालाई कार्यवाहक तोक्न माग गरेका थिए । त्यसपछि ११औँ महाधिवेशनबाट सहमति वा निर्वाचनबाटै नेतृत्व चयनको विकल्प दिएका थिए ।
त्यस्तै, ओलीकै नेतृत्वमा महाधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरणमा सहजीकरण गर्नुपर्ने विकल्प पनि अगाडि सारेका थिए । ओलीलाई नेतृत्व हस्तान्तरणको स्वघोषणा नै गर्न आग्रह गरेका योगेशमाथि उनी कठोर बनेका थिए । यति मात्रै होइन, परिस्थिति फेरिएको भन्दै योगेशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याउन पनि माग गरेका थिए ।
तर, भट्टराईको मागको कुनै सुनुवाइ हुन सकेन । आफ्ना माग सुनुवाइ नभए पनि भट्टराईले निरन्तर पार्टी नेतृत्वमाथि खबरदारी गरिरहेका छन् । भिडियो सन्देश, सामाजिक सञ्जालदेखि सञ्चारकर्मीसम्म उनले पार्टीका बेथितिमाथि बोल्दै आएका छन् ।
पछिल्लोपटक मधेश प्रदेशमा एमालेको सरकार बनाउने प्रक्रियाको समेत खुलेर विरोध गरेका थिए । पछिल्लो समय नेतृत्वविरुद्धमा उभिएका अन्य नेताले दिएका अभिव्यक्तिलाई समेत योगेशले प्राथमिकतापूर्वक शेयर गर्दै आएका छन् ।
‘आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ । ुयद्यपि, यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ,’ भट्टराईले भनेका छन्, ‘मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तर्विरोध तीव्र बनेको छ । यो सबै किन र कसका कारणले भयो रु’
मधेशमा स्वयम् पार्टी अध्यक्षले मिहिनेत गरे पनि कसले खेलवाड गरेको भन्दै उनले प्रश्न उठाएका हुन् । ‘कसले र केका लागि खेलवाड़ गरियो रु यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्छ,’ भट्टराईले भनेका छन्, ‘सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ रु पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानुपर्छ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’
उनले निरन्तर यस्तो मत राखेपछि पार्टी नेतृत्व नै उनीसँग असन्तुष्ट बनेको बताइन्छ ।




