काठमाडौँ, मंसिर ५ । नेपाल प्रिमियर लिग एनपीएल–२ मा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भीडने भएका छन । अपराह्न ४ बजे टीयु क्रिकेट मैदानमा हुने भिडन्त क्रिकेटप्रेमी दर्शकहरूका लागि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
पोखरा एभेञ्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन् । घरेलु र विदेशी खेलाडीहरूको राम्रो संयोजन रहेको पोखराको टोली हाल उत्साहपूर्ण अवस्थामा देखिन्छ । टोलीका प्रमुख खेलाडीहरूमा आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपीन खत्री तथा विकेटकिपर एडम रोसिङ्टन रहेका छन् । यी खेलाडीहरूले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेका कारण पोखरालाई आजको खेलमा बलियो मानिएको छ ।
यता, सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । अनुभवी र प्रतिभाशाली खेलाडीहरू समेटिएको सुदूरपश्चिमको टोली पनि जितको स्पष्ट लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । टोलीका प्रमुख खेलाडीहरूमा विकेटकिपर विनोद भण्डारी, आक्रामक ब्याट्सम्यान क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा रहेका छन् ।
दुवै टोली पछिल्ला खेलमा सकारात्मक लयमा देखिएका कारण आजको खेल निकै प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ । एनपीएल–२ मा अंक तालिकाको प्रतिस्पर्धा झनै कडा हुँदै गएकाले आजको खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
यस खेलको नतिजाले अंक तालिकामा ठूलो प्रभाव पार्ने भएकाले क्रिकेट समर्थकहरूको ध्यान आजको बाँकी खेलतर्फ केन्द्रित भएको छ ।






