जनकपुरधाम, मंसिर ५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीचको एकता प्रक्रियालाई आज अन्तिम रूप दिइने तयारी भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षबीच सहमतिपत्रको मस्यौदा तयार भइसकेको र आज थप छलफलपछि त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
नेकपाका नेता प्रकाश ज्वालाका अनुसार सहमतिपत्रमा दुवै पक्ष सकारात्मक देखिएका छन् । “सहमति पत्रको ड्राफ्ट तयार भएको छ । त्यसमा थप छलफल गरेर अन्तिम रूप दिनु भनेको अब एकताको प्रक्रिया निष्कर्षको नजिक पुगेको संकेत हो,” उनले बताए ।
सहमतिको मुख्य बुँदाहरूमा नेपाली विशेषताको समाजवादलाई क्रान्तिको कार्यदिशा बनाउने, नेकपाले मार्गदर्शक सिद्धान्त मानेको मार्क्सवाद र लेनिनवादलाई जसपाले पनि स्वीकार गर्ने तथा पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता रहने उल्लेख गरिएको छ । यसअघि विभिन्न कम्युनिस्ट दलहरू मिलेर नेकपा गठन गर्दाका १८ बुँदे सहमतिहरूलाई समेत कार्यान्वयन गर्ने सहमति भएको स्रोतले जनाएको छ ।
यसैगरी, जसपाका हाल रहेका सबै केन्द्रीय सदस्य स्वतः नेकपाको पनि केन्द्रीय सदस्य हुने व्यवस्था सहमति पत्रमा गरिएको छ । यसले पार्टीको एकीकृत संरचना तयार पार्ने र संगठनात्मक स्थायित्व ल्याउने नेताहरूको दाबी छ ।
तर, सो एकताको निर्णयप्रति जसपाभित्रका केही असन्तुष्ट समूह भने असहमति जनाउँदै विद्रोहको तयारीमा रहेको बताइएको छ । स्रोतका अनुसार जसपाका महासचिव इस्तियाक राइन, प्रदीप यादव सहितका नेताहरुले नेतृत्वले पर्याप्त समन्वय नगरेको र एकता प्रक्रिया हतारमा अघि बढाइएको आरोप लगाएका छन ।
नेकपा सहित, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी सहितका दलहरु संग एकता प्रक्रियाको छलफल चलिरहेको बेला केही नेताले हतारमा नेकपा संगको एकता प्रक्रियालाई टुङ्गयाउने तयारीमा पुगेको आरोप लगाएका छ । मधेश आन्दोलनबाट उदाएका नेताहरु नेकपा संगको एकता प्रक्रियाप्रति असहमति जनाइ रहेको स्रोतको दावी तर उनिहरु अहिले सम्म औपचारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैन ।
जसपा संघीय परिषदका अध्यक्ष राजेन्द्र श्रेष्ठ जसरी पनि नेकपा संग एकता गर्ने तयारीमा छन भने केही नेता नेकपा संग एकता गर्न नहुने पक्षमा रहेको छ ।
उनीहरूले छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने संकेत समेत दिएका छन् ।




