काठमाडौं ,मंसिर ६ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले न्यायाधीशहरूलाई कायर देखाउन खोजिएको बताएका छन् । आज काठमाडौंमा पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले अहिले बढ्दै गरेको आतंकको अवस्थामा कसैले पनि जोखिम लिन नसक्ने भन्दै संसद पुनर्स्थापना हुनै नसक्ने कुरा गलत रहेको स्पष्ट पारे ।
पोखरेलले मुलुकलाई लोकतन्त्रको दिशामा अघि बढाउन प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको भन्दै न्यायमूर्तिबाट संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरे ।
उनले सडकबाट र सर्वोच्चबाट पनि संसद पुनर्स्थापना भएको स्मरण गरे । उनले २०५८ मा विघटन भएको संसद २०६३ सालमा सडक प्रदर्शनमार्फत पुनर्स्थापना भएको बताए । त्यस्तै, त्यसपछिका घटनामा पनि विघटन भएको सांसदलाई सर्वोच्चले सच्याएको उल्लेख गरे ।
पोखरेलले अब नेपाली जनता जोगिएको हुँदा हत्यारहिंसाविरुद्ध जागरणसभा र जनप्रदर्शन भइरहेको बताए । उनले २३ कात्तिकमा भएको वडा भेला, २५ कात्तिकमा पालिकास्तरीय भेला र २९ कात्तिकमा काठमाडौं उपत्यकाबाहेकका देशैभरका जिल्लामा बृहत् र्याली र कोणसभा गरेर जनतालाई जागृत गराउने काम गरिएको जानकारी दिए ।
‘अराजकताको राज धेरै लामो समय जान सक्दैन । एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्दछ’, पोखरेलले भने, ‘एमाले नेपाली जनताको पार्टी हो । जनताको साथमा छ । अब जनताको नेतृत्व यही पार्टीले गर्छ ।’




