काठमाडौँ, मंसिर ८ । नेपाली क्रिकेट को सबैभन्दा ठूलो चहलपहलमध्ये एक– नेपाल प्रिमियर लिग(एनपीएल) सुरु भएसँगै देशको माहौल एकाएक खेलमय बनेको छ । टिमका स्टार खेलाडी मात्र होइन, सेलेब्रिटीहरूले दिएको समर्थनले पनि यो वर्षको एनपीएललाई झन् रोचक बनाइदिएको छ । मैदानमा उत्रिने ८ फ्रेन्चाइज टिममध्ये को–को कहाँ उभिएका छन् ?
कसको भावना कुन टिमसँग जोडिएको छ रु यही उत्सुकताबीच सामाजिक सञ्जालदेखि रंगशालासम्म सेलेब्रिटीको उपस्थितिले एनपीएल अझै चम्किएको छ ।
सबैभन्दा पहिले कुरा गरौँ हास्य कलाकार सन्दीप क्षेत्रीको । उनी यसपालि पूर्णतस् पोखरा एभेन्जर्सको समर्थनमा छन् । प्रतियोगिता सुरु भएको पहिलो दिनमै उनले पोखराको प्रचार गीत पोस्ट गर्दै–‘वि आर पोखरा एभेन्जर’ भनेर उत्साह व्यक्त गरेका छन् ।
उनका समर्थले उनलाई पोखराको ‘लक’ बन्ने आशा गरे पनि टिमको यात्रा सुरुमा गाह्रो नै रह्यो । पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित हुँदा समर्थकहरूको आशा निराशामा बदलिएको छ ।
अब कुरा गरौँ, रचना रिमालको । भिडमा उभिँदा पनि आफूलाई छेउछाउभन्दा अलग पहिचान दिन सक्ने उनको विशेषता हो । झापा घर भएकी रचना विराटनगर किङ्सप्रति खुलेरै समर्थन गरेकी छन् । कहिले जर्सी लगाएर, कहिले झन्डा फहराउँदै उनले बलियो समर्थन जनाउने गरेकी छन् ।
खेल हेर्न उनी रंगशालासम्म पुग्छिन्, अनि सामाजिक सञ्जालमा उत्साह छर्ने काम त झन् नियमितजस्तै । विराटनगरले लगातार दुई खेल जित्दा रचनाको खुसी दोब्बर भएको सहजै बुझिन्छ । कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एमएडी ड्रिम स्पोर्ट्स–स्वामित्वको यो टिमलाई उनले प्रदेशको गर्वको रूपमा लिएकी छन् ।
रचनाजस्तै एलिना चौहान पनि विराटनगरकै समर्थनमा लागेकी छन् । झापा घर भएकाले पनि आफ्नो प्रदेशको टिमलाई उनले साथ दिएकी हुन् । उनी शनिबारको खेल हेर्न टीयू क्रिकेट मैदान पुगेकी थिइन् ।
सँगै गायक प्रताप दास पनि मैदानबाहिर विराटनगरका खेलाडीलाई हौसला दिँदै गरेका देखिए । कलाकारहरू मैदानमा उपस्थित हुँदा समर्थकहरूको ऊर्जा झन् बढ्ने गर्छ । त्यसैले विराटनगरका खेलमा मनोरञ्जन जगत्को उपस्थितिले माहौल नै उत्साहप्रद बनाएको छ ।
त्यसो त कलाकार कुमार कट्टेलले पनि आफ्नो पक्ष स्पष्ट गरिसकेका छन् । केही दिनअघि सामाजिक सञ्जालमा पहेँलो जर्सी लगाएको फोटो पोस्ट गर्दै उनले सोधे– ‘यसपालि तपाईं कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ ?
देशकै खेल भएको बताउँदै उनले भने, ‘थोरै बढी समर्थन विराटनगर किङ्सलाई छ ।’ उनको यो अभिव्यक्ति काठमाडौंदेखि विराटनगरसम्मका दर्शकबीच निकै चर्चित रह्यो । तर, सेलेब्रिटीमध्ये एक जना– हरिवंश आचार्य, भने निष्पक्ष दर्शक बन्न रुचाए ।
१ मंसिरको उद्घाटन खेल हेर्दै गरेको फोटो पोस्ट गर्दै उनले लेखे– ‘नेपाली क्रिकेटको विकासको महत्त्वपूर्ण लिग ।’ उनले कुनै टिम पनि खुलाएनन्, तर उनको उपस्थिति आफैँमा ठूलो सन्देश थियो– क्रिकेट सबैको साझा गौरव हो । जारी एनपीएल २७ मंसिरसम्म चल्नेछ ।
एनपीएलमा ३२ खेल, लिग चरण, प्लेअफ र फाइनल– केवल खेलाडी प्रतिस्पर्धा होइन, समर्थक र सेलेब्रिटीको भावना मिसिएको एउटा ठूलो उत्सवझैँ बनिदिएको छ ।
मैदानमा खेलाडीको प्रतुति मात्र होइन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेलेब्रिटीहरूको समर्थनले पनि यो लिगलाई नयाँ उचाइमा पुर्याएको छ । एनपीएल केवल क्रिकेट लिग मात्र नभएर सिङ्गो देशको उत्साह, ऊर्जा र एकताको प्रतीक पनि बन्दै गएको छ ।




