काठमाडौं, मंसिर ८ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल तथा रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एउटै जाँतो चुनाव चिन्ह प्रयोग गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यी तीन दलले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गर्दै नाउपाको हालको ‘जाँतो (चकिया)’ चुनावचिन्ह प्रयोग गर्ने सहमति गरेका हुन्।
आइतबार सम्पन्न बैठकपछि जारी गरिएको सहमतिपत्रमा जसपाका अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन्।
सहमतिपत्रमा भनिएको छ, “एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चिन्ह प्रयोग गर्न सहमत भएका छौं । साथै, विचार मिल्ने अन्य दलहरूलाई पनि यही चिन्हमा सहभागी हुन आह्वान गर्दछौं।”
तीन दलबीचको यो सहमतिलाई मधेस केन्द्रित राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।




