काठमाडौं, मंसिर ८ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल आयोजना हुँदैछन्। दुवै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने भएका छन्।
बिहान ११स्४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। त्यसपछि दिउँसो ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ।
हालको अङ्कतालिका अनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज दुई अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। दुई खेल खेलेको पोखरा एभेन्जर्स भने दुवै खेलमा पराजित हुँदै पुछारमा छ।
मंसिर १ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ।






