काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले भोलि काठमाडौंमा भेला आयोजना गर्ने भएका छन्। केन्द्रीय समितिलाई दबाब दिन आयोजन गरिएको उक्त भेला भोलि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने उल्लेख गरिएको छ।
विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेका अनुसार पार्टीको वर्तमान अवस्थाबाट निकास पाउन विशेष महाधिवेशन नै आवश्यक देखिएको छ। उनले भने, “अब पार्टीको समस्या समाधान गर्न विशेष महाधिवेशन बाहेक अर्को विकल्प देखिँदैन।”
नेपाली कांग्रेसभित्र आगामी चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा चर्को मतभेद देखिएको छ। यही विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बिहीबार बस्ने तयारी गरिएको छ। सो बैठक असोज २८ गतेदेखि स्थगित हुँदै आएको छ।




