जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक, कालोपट्टी बाँधेर मिराज समूहको प्रदर्शन



काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मागपत्र बुझाउन पुगेको जेन-जी  समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। हिजो अपरान्ह २१ जनाको समूह सिंहदरबार पुगेको थियो, तर भित्र प्रवेश गर्न नदिएपछि उनीहरूले दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए।

आज बिहान मिराज ढुंगानाको नेतृत्वमा युवाहरू सिंहदरबार गेटमा पुगेका थिए। सो क्रममा प्रहरीले उनीहरूलाई गेटबाटै रोकी अनामनगरतर्फ फर्काएको थियो। केही समय तनावपूर्ण अवस्था सिर्जना भएपछि समूहले गेटअगाडि नाराबाजी गर्दै प्रदर्शन गरेको थियो।

प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्ने समय नदिएको भन्दै मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो। आइतबार बैठक बसेर सोमबारदेखि निरन्तर आन्दोलनमा जाने निर्णय गरेको समूहले मंगलबार सिंहदरबार गेटमा पुगेर गिरफ्तारीसमेत दिने योजना बनाएको जनाएको थियो, तर प्रहरीले प्रवेशमा रोक लगाएपछि प्रदर्शनमै सीमित रह्यो।

समूहका अगुवा हरिष भट्टका अनुसार, प्रधानमन्त्रीलाई भेट्ने भन्दा पनि गेटअगाडि पुगेर विरोध प्रदर्शन गर्ने पूर्वयोजना अनुसार उनीहरू त्यहाँ पुगेका थिए। ‘हाम्रा मागहरू सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न,’ उनले बताए।

सोमबार जेन–जी समूहका अगुवाहरूले विभिन्न विषय समेट्दै ८ बुँदे संयुक्त मागपत्र सिंहदरबार गेटमा टाँसेका थिए। मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित भदौ २३–२४ को घटनामा संलग्न सबैमाथि छानबिन तथा कारबाहीको माग गरिएको छ।

त्यस्तै, वर्तमान संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन, घोषित निर्वाचन रोक्नुपर्ने, शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने, सरकारी सेवामा दलीय कर्मचारी संगठन प्रतिबन्ध गर्नुपर्ने, जेन–जी निगरानी आयोग गठन र शहीद तथा घाइते परिवारलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने जस्ता मागहरू पनि समेटिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्ना परिवारका सदस्य तथा नातेदारलाई सचिवालयमा नियुक्ति गराएको आरोप बाहिरिएपछि जेन–जी समूह थप आक्रोशित बनेको बताइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १०, मंगलवार १३:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको