काठमाडौं, मंसिर ९ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। यसअघि पार्टीको सचिवालय बैठकमा पनि आफू अध्यक्ष पदको दाबेदार रहने जानकारी गराइसकेको पोखरेलले यस पटक सार्वजनिक रूपमा आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका नेता–कार्यकर्ताबाट आएका सुझाव र आग्रहलाई आत्मसात गर्दै उम्मेदवारी घोषणा गरेको पोखरेलले उल्लेख गरेका छन्। साथै, वर्तमान अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि आफूले राखेको बताएका छन्।
एमालेको ११औँ महाधिवेशन मंसिरको अन्तिम साता हुने तय गरिएको छ। हालका अध्यक्ष केपी शर्मा ओली भने तेस्रो पटक अध्यक्ष बन्न पार्टीको विधानसमेत संशोधन गरी तयारीमा जुटिरहेको चर्चा छ।
तर पछिल्लो समय जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई देखाउँदै ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन्।




