जनकपुरधाम, मंसिर ९ । त्रेता युगमा भगवान राम र माता सीताको विवाह भएको पावन स्मृतिमा हरेक वर्ष मनाइने सीताराम विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आज भव्यताका साथ मनाइँदै छ । सप्ताहव्यापी रूपमा मंसिर ४ गतेदेखि सुरु भएको महोत्सव अन्तर्गत आज छैटौँ तथा मुख्य दिन विवाहपंचमी रहेको छ।
विवाहपञ्चमीको आजको मुख्य आकर्षण स्वयम्बर एवं नगर परिक्रमा रहने छ । दिउसो १ बजे जानकी मन्दिर , राममन्दिर लगायतको मन्दिरहरु बाट निस्कने राम सीताको प्रतिमा सहितको डोला रंगभूमि मैदान पुग्ने र त्यहाँ स्वयम्बर सकिए पछि नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । रंगभूमि मैदानको स्वयम्बर र नगर परिक्रमा लाखौ श्रद्धालु सहभागी रहने छ । स्वयंम्बरमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानहरु बाट लाखौ श्रद्धालु सोमबार राति नै जनकपुर पुगि सकेको र आउने क्रम अहिले पनि जारी नै रहेको सुरक्षा स्रोतले जनाएको छ।
स्वयम्बर पछि राति जानकी मन्दिर प्राङ्गणमा भव्य विवाहोत्सव मनाउने कार्यक्रम रहेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौँ दिन जानकीको मटकोर विधि सम्पन्न भइसकेको छ भने आज विवाह सम्पन्न भएपछि भोलि रामकलेवा विधिसँगै औपचारिक रूपमा महोत्सव समापन हुनेछ ।
विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशभर आज सार्वजनिक बिदा समेत दिइएको छ ।






