रौतहटमा २१ वर्षीय महिलाको शंकास्पद मृत्यु



ओम प्रकाश यादव
रौतटह, मंसिर १० । रौतहटको भुसाहामा महिलाको विभत्स हत्या भएको घटना सेलाउन नपाउँदै जिल्लामा फेरि अर्को स्तब्ध बनाउने घटना सार्वजनिक भएको छ। माधवनारायण नगरपालिका–४ विशुनपुरवामा २१ वर्षीय रुबीना यादव शंकास्पद अवस्थामा मृत फेला परेको घटनाले स्थानीयवासी त्रसित बनेका छन्।

विशुनपुरवाका रूपेश यादवकी श्रीमती रुबीना यादवले हिजो साझ पासो लगाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीमा सूचना मंगलवार साँझ करिब ७ बजेतिर आएको थियो।

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार रुबीनालाई झुन्डिएको अवस्थामा देखेपछि उनका श्रीमान रूपेश यादवले बचाउ गर्ने उद्देश्यले डोरी काटेर भुइँमा राखेका थिए। तर उनको ज्यान भने गइसकेको अवस्थामा थियो। घटना देखेपछि रूपेशले तात्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनालाई आत्महत्या मानिरहेको प्रहरीले प्रारम्भिक धारणा बनाए पनि मृतकको माइती पक्षले भने यो शंकास्पद रहेको दाबी गरेको छ।
माइती पक्षका अनुसार रुबीनालाई श्रीमानले झुण्डिएर आत्महत्या गर्न बाध्य बनाएको वा सीधै हत्या गरी झुण्ड्याएको हुनसक्छ।
उनले रूपेश यादवलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।

प्रहरीले घटनाको स्पष्ट निष्कर्ष निकाल्न पोस्टमार्टम रिपोर्ट महत्वपूर्ण हुने बताएको छ।

जिल्ला अस्पताल गौरमा शव परीक्षणका लागि पठाइएको र रिपोर्ट नआउञ्जेल हत्या वा आत्महत्या कुन हो भनेर ठोकुवा गर्न नसकिने जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालले बताए।

उनका अनुसार, “पोस्टमार्टमको वैज्ञानिक विवरण नआइकन केही भन्न सकिँदैन। विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता खुल्नेछ।”

रौतहटमा पछिल्ला दिन एकपछि अर्को हत्या, हिंसा र संकास्पद मृत्युका घटनाहरु बढ्दै जान थालेपछि स्थानीयवासीमा डर र असुरक्षाको भावना बढ्दै गएको छ।
समाजलाई हल्लाउने घटनाहरू रोकथाम, नियन्त्रण तथा पीडितलाई न्याय दिलाउनेतर्फ अब सबै निकाय गम्भीर हुनुपर्ने सर्वत्र माग उठ्दैछ।

प्रकाशित मिति: २०८२ मंसिर १०, बुधबार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको