जनकपुरधाम, मंसिर १० । त्रेता युगमा भगवान् राम र माता सीताबीच भएको ऐतिहासिक विवाहको स्मृतिमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सव आज रामकलेवासँगै औपचारिक रूपमा समापन हुँदैछ।
सात दिनसम्म विविध धार्मिक, सांस्कृतिक र परम्परागत कार्यक्रमसहित सञ्चालन भएको विवाह पञ्चमी महोत्सवको मुख्य दिन मंगलबार भव्य रूपमा सम्पन्न भएको थियो। विवाहपंचमीको दिन जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान् रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा पुर्याई परम्परागत विधिअनुसार स्वयम्बर तथा विवाह संस्कार सम्पन्न गरिएको थियो।
डोलासँगै जनकपुरधामको नगर परिक्रमा गराइएको थियो, जसमा देश(विदेशबाट आएका लाखौँ श्रद्धालु सहभागी भएका थिए। स्वयम्बर कार्यक्रमका क्रममा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो, जसले समारोहलाई अझ भव्य र आकर्षक बनाएको थियो। परिक्रमा यात्रामा विभिन्न मठ–मन्दिरका डोला, साधु–सन्त तथा स्थानीय वासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
आज भारतबाट आएका पाहुनाहरूलाई सम्मानपूर्वक बिदा गरिने कार्यक्रम आयोजना गरिँदैछ। पाहुनालाई बिदा गरिने परम्परागत कार्यलाई ‘रामकलेवा’ भनिन्छ, जसपछिसँगै विवाह पञ्चमी महोत्सवको औपचारिक समापन हुने परम्परा रहेको छ। धार्मिक आस्थाअनुसार रामकलेवा विवाह संस्कारपछि गरिने विशेष सांस्कृतिक प्रक्रिया हो।
विवाह पञ्चमी महोत्सवका कारण जनकपुरधाममा गत केही दिन यता उल्लेखनीय चहलपहल देखिएको छ। स्थानीय व्यापार, होटल, यातायात र धार्मिक पर्यटनमा समेत यसको सकारात्मक प्रभाव परेको छ। जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक नगरीका रूपमा थप चिनाउन यस महोत्सवले महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूको भनाइ छ।
आयोजक र सुरक्षाकर्मीहरूले शान्तिपूर्ण र व्यवस्थित रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन्।




